Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नयाँ आर्थिक बर्षमा माथिल्लो तामाकोसी आयोजनालाई १ अर्ब बजेट

काठमाडौँ — सरकारले गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । पुँजी अभावका कारण काममा समस्या हुन नदिन सरकारले माथिल्लो तामाकोसी आयोजनालाई बजेट छुट्याएको हो ।

सरकारले आगामी आवका लागि उक्त आयोजनालाई १ अर्ब बजेट छुट्याएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ०७५/०७६ मा ५० करोड रुपैयाँ बरावर खर्च गरिएको थियो । ०७६/७७ मा ९९ करोड ७६ खर्च हुने अनुमान गरिएको छ । लकडाउनका कारण केही समस्याका बावजुत आयोजना काम जारी राखिएको छ । ४ सय ५६ मेगावाटको उक्त आयोजना निर्माणको अन्तिम चरणमा छ ।

असार महिना भित्र आयोजनाको काम सम्पन्न गर्ने र पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । ०६७/०६८ बाट सुरु भई ०७२/०७३ मा सक्ने लक्ष्य लिइए पनि मिति पछि धकेलिँदै आएको छ ।

गौरवका आयोजनाहरुलाई विनियोजित बजेटमध्ये चालु आवमा ५५ अर्ब ४२ करोड ४७ लाख खर्च हुँदै छ । आगामी आवमा भने २३ आयोजनामध्ये २१ वटाका लागि १ खर्ब २४ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । लामो समयदेखि सुरु भएर पनि प्रगति नदेखिएका आयोजनामा समेत बजेट बढाइएको छ ।
आयोजनामा बर्सेनि खर्चभन्दा दोब्बर बजेट विनियोजन गर्दै आएको छ । विनियोजन भएअनुसार बजेट खर्च भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षमा विनियोजित १ खर्ब २ अर्ब ६५ करोडमध्ये अर्धवार्षिक समीक्षासम्म १९ अर्ब २४ करोड मात्र खर्च भएको छ । अर्थात् पुससम्म कुल बजेटको १८ दशमलव ७ प्रतिशत खर्च भएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आगामी आवमा माथिल्लो तामाकोसी, मेलम्ची खानेपानी आयोजनाको पहिलो फेजको काम सक्ने लक्ष्य राखिएकाले बजेटमा प्राथमिकतामा परेको बताए । उनका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति राम्रो भएकाले ती आयोजना पनि सकिनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update