काठमाडौँ । उपनिर्वाचनको नतिजामा पुरानै दलको वर्चस्व देखिएको छ । बिभिन्न जिल्लाका ४४ स्थानको नतिजा कांग्रेस, एमाले र माओवादीको पक्षमा आएको छ । प्रमुख दलले जितेका स्थानहरु फेरबदल भएपनि परिणाम भने उनीहरुकै पक्षमा आएको हो ।
कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् । दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद यसअघि नै निर्विरोध भएको थियो भने आइतबार ४१ पदमा मतदान भएको हो ।
उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ ।
राजनीतिक वृत्तमा ‘मिसन–८४’ को चर्चा चलिरहेका बेला भएको स्थानीय तहको उपनिर्वाचनमा सत्ताको प्रमुख घटक कांग्रेसले सबैभन्दा बढी क्षति बेहोर्नुपरेको छ भने एमालेले मध्यम खालको परिणाम निकालेको छ । साढे चार महिनाअघि सत्ताबाट बाहिरिएको माओवादीलाई भने चुनावी परिणामले उत्साही बनाएको छ । पुराना राजनीतिक दलको विकल्पमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको एउटा वडा जिते पनि समग्रमा निराशाजनक मत ल्याएको छ ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले पुराना दललाई सामाजिक सञ्जालमा जतिसुकै गालीगलौज गरे पनि निर्वाचनका बेला तिनै दललाई जनताले विश्वास गरेको सन्देश उपनिर्वाचनले दिएको बताए ।