Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कविता  :  विभेद मुक्तिको कर्नल फूक

विभेद मुक्तिको कर्नल फूक
                               
                           {डम्बर थामी अनुपम} 

भीषण अनि रक्तपातमय 
युद्ध मोर्चाहरूमा 
तिमीले बनाएको खुकुरीले 
तिमीले बनाएको तरवारले 
शत्रुका गर्धनहरू छिनालेर 
तिमीले पाइन हालेको संगीनले 
शत्रुका छातिहरू उधिनेर 
जितिएका हुन ठूल्ठूला लडाईंहरू 
कमाईएका हुन अपराजेय 
बहादुरिताहरू 
भिरिएका हुन भिक्टोरिया क्रस 

तिमीले बनाएको हनुमानको मूर्ति 
तिमीले बनाएको मन्दिरको गजुर 
तिमीले बनाएको साक्षात 
देवीको प्रतिमा 
जहाँ तिम्रो औंलाको 
शंख चक्रका छापहरू छँदैछन 
तिमीले बनाएका ती भगवानहरू 
मन्दिरभित्र पवित्र भएर बस्छन
दुनियाँले भेटी चढाउँछन
शिर निहुराएर ढोग्छन 
पूजा आराधना गर्छन् 
जयजयकार गर्छन 
तर तिमी त्यही मन्दिरको 
ढोकाबाट भित्र छिर्न किन पाउँदैनौ हँ ?

तिमीले बनाएको ओदानमा 
तिमीले बनाएको कुँडेमा 
वेदको मन्त्रोच्चारण गर्ने 
ब्राह्मणको चूल्होमा 
दुध उम्लन्छ 
तिमीले बनाएको दियोमा 
पवित्र मन्दिरहरूमा झलमल्ल 
दीपहरू बल्छ 
मन्दिर उज्यालो हुन्छ 
ईश्वरको जयजयकार गरिन्छ 
तर तिमीलाई किन विभेद गरिन्छ हँ ? 

तिमीले बनाएको कर्नलले गाउँ ब्यूँझाउँछ 
गाउँको शोभा बढाउँछ 
नराम्रो काम नगर भनेर उर्दी लगाउँछ 
तिमीले बनाएको सनाईले 
वेदनाको राग अलाप्छ 
तिमीले बनाएको दमाहाले 
मुखियाको मुटु थर्काउँछ 
तिमीले बनाएको सुनको जहावरत 
मान्छेको गलामा सुहाउँछ 
तिमीले बनाएको सुनको मुकुट 
राजाको शिरमा सुहाउँछ 
तिमिले बनाएको बाला 
मान्छेले हातमा सुहाउँछ 
तर ! तिम्रो किन मान्यता छैन हँ ?

सम्पूर्ण मानव जातिको पूर्खा एउटै हो 
छुवाछूत र विभेदको 
चलन चलाएका हुन 
जयस्थिति मल्लले 
तिमीलाई कुटीकुटी मारेर 
भेरीको छालमा हुत्याउने पनि 
जयस्थिती मल्लकै बिंडो थामेका 
दयाहीन मल्लहरू नै हुन 
त्यसैले !
नवराज तिमीले 
फेरि पनि 
चन्द्र सूर्य अंकित रातो झन्डाको 
ओतमुनि बसेर 
कुसंस्कारका कुँडाकर्कटलाई डढाउन 
विभेदका जालहरूलाई च्यातचुत पार्न 
तिम्रा हत्याराहरूलाई खरानी पार्न 
बेस्सरी फुक्नुपर्छ 
तिम्रो आरणको खलाँती 
एकपटक फेरि पनि 
जोडतोडले फुक्नुपर्छ 
विभेद मुक्तिको कर्नल 

रचनाकार : डम्बर थामी अनुपम
रचना : ३१ मई, २०२० पराईभूमी 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update