काठमाडौं । प्रेस काउन्सिल नेपालले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पा बिरुद्धको समाचार तत्काल हटाउन सम्बन्धित संचार संस्थालाई निर्देशन दिएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कवाडी चोरी घट्नासँग शेर्पालाई जोडेर एक अनलाईनमा आएको समाचार अपुष्ट र भ्रामक भएको भन्दै काउन्सिलले यस्तो निर्देशन दिएको हो ।
‘सम्प्रेषण भएको सामग्री पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ को ४ (६) र निर्वाचन आचारसंहिता २०७९ को दफा २५ को (ख) प्रतिकुल देखिएको हुँदा अविलम्ब हटाई/स्थगन गरी २४ घट्नाभित्र जवाफ पेस गर्न निर्देशानुसार सूचित गरिन्छ’, काउन्सिलको पत्रमा भनिएको छ ।
प्रकाशित/प्रसारित समाचार सामाग्री २४ घण्टाभित्र नहटाए कारबाही गर्ने चेतावनी समेत काउन्सिलले दिएको छ । काउन्सिलले भनेको छ, ‘मौन अवधिको विशेष र संवेदनशील बेलामा डिजिटल माध्यममा देखिने गरी यसप्रकारको सामाग्री प्रकाशन/प्रसारण गर्न नमिल्ने भन्दै काउन्सिलले यसअघि नै प्रेस विज्ञप्तीमार्फत अपिल जारी गरिसकेको अबस्थामा उक्त अपुष्ट/भ्रामक समाचार सामग्री तत्काल नहटाईए आवश्यक कारबाही हुने बेहोरा निर्देशानुसार सूचित गरिन्छ ।’
काउन्सिलले आगामी दिनमा यस किसिमका सामग्री सम्प्रेषण नगर्न/नगराउन र निर्वाचन आचारसंहिता पालनामा सजग रहन पनि निर्देशन दिएको छ ।
उपनिर्वाचनमा हार निश्चित भएपछि निर्वाचन प्रभावित पार्नेगरी आफु निकट मिडिया दुरुपयोग गरेर माओवादी दुष्प्रचारमा उत्रिएको एमाले नेताहरुको आरोप छ । कवाडी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेका बेला एक अनलाईनले उमा शेर्पाको संलग्नताको आशंका भन्दै निर्वाचनको मुखमा समाचार सम्प्रेषण गरेको थियो ।
गृह मन्त्रालयले समेत शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै गलत समाचार सम्प्रेषण नगर्न र निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
यही मंसिर १६ गते गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा उमा एमालेबाट उम्मेदवार हुन् । यहाँ कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।
यस्तो छ काउन्सिलको पत्र :