काठमाडौँ । चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाबारे नेपालका राजनीतिक दलहरुले समान धारणा बनाउन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणको पृष्ठभूमिमा यसबारे भएका छलफलमा ठोस प्रगति हुन सकेन । जसका कारण बीआरआई परियोजना कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषय अन्यौलमा परेका छ ।
ओलीले चीन भ्रमणबारे सुझाव लिन पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको छलफलमा कांग्रेसले बीआरआई कार्यान्वयनमा सम्झौता गर्न नहुने धारणा राखेको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादीले बीआरआई परियोजना सम्झौता गर्नुपर्ने सुझाव दिएको छ ।
बैठकको सुरुमै प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वयनलगायत अन्य गर्नुपर्ने सहमति, सम्झौताबारे सुझाव मागेका थिए । उनले ठूलो विवाद हुने गरी आफूले नयाँ सम्झोता नगर्ने उल्लेख गर्दै मुलुकको हित हुनेगरी भ्रमणको गृहकार्य भइरहेको बताए ।
बैठकमा सहभागी माओवादी वरिष्ठ उपाध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआई परियोजना अघि बढाउने विषयमा अनुदान वा सफ्ट लोनको विवादमा अल्झिएर यसको कार्यान्वयन सम्झौता रोक्न नहुने पार्टीले सुझाव दिएको बताए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि ऋण लिँदै नलिने विवादकमा कारण मुलुकको हितमा हुने सम्झौता गर्नबाट पछि हट्न नहुने सुझाव दिएका थिए ।
कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले हाल बीआरआई परियोजना कार्यान्वयन सम्झौता गर्न नहुने धारणा राखेको एक सहभागीले बताए ।
सत्ता गठबन्धन कांग्रेस र एमालेबीच बीआरआई परियोजना अघि बढाउनेबारे अझै सहमति हुन बाँकी छ । ओलीले मंसिर १७ देखि चीनको औपचारिक भ्रमण गर्दैछन् ।