चरिकोट । नेकपा एमालेले गौरीशंकरमा आफ्नो उम्मेदवार जिताउन अपिल गर्दै जनतासामु ११ बुँदे प्रतिबद्धता जनाएको छ । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रतिवद्धता पत्र सार्बजनिक गर्दै एमालेले यस्तो प्रतिवद्धता जनाएको हो । प्रतिवद्धता पत्रमा हाल गाउँपालिकामा विकासको गति ब्रेक भएको, सडक संजालको बेहाल, सुशासन ध्वस्त भएको भन्दै आफ्नो उम्मेदवारलाई जिताउनुपर्ने औचित्य प्रष्ट पारिएको छ ।
प्रतिवद्धता पत्रमा पालिकाको सुसासन कायम गर्दै अलपत्र विकास निर्माणलाई पुर्णता दिने र आर्थिक समृद्धिलाई सार्थक बनाउन पहल गर्ने विषय प्रमुखताका साथ उठाईएको छ । एमालेले उमा शेर्पा मगरलाई उपाध्यक्ष पदका लागि मैदानमा उतारेको छ ।
यस्तो छ एमालेको प्रतिवद्धता पत्र
हाम्रो गौरीशंकरः सम्पदा हो अपार
नेपाली समय सूचक हिमाल गौरीशंकरको काखमा छौं । शिव–पार्वतीको वास (कैलास पर्वत) रहेको विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको च्छोरोल्पा हिमतालको साथमा छौं । विश्वमै अति दुर्लभ हिम चितुवा र रेडपाण्डाको घरमा छौं । तामाकोसी लगायतको नदिनाला लगायतका अथाह जलसम्पदाको किनारमा छौं । सर्वोच्च शिखरमा पाइला राख्ने मानवहरुको वस्ती बेदिड जस्तो विश्व कै चर्चित भूमिमा छौं । लोपोन्मुख, आदिवासी, संस्कार, संस्कृति र भाषाभाषी भएका विविध जातजाति दिदिबहिनी, दाजुभाइ मिलेर वसेका छौं । प्रकृति सम्पदा र स्रोत साधनमा जिल्लाको सबैभन्दा धनी हामी छौं । यस अद्वितीय सौन्दर्य र सम्पत्तिको संरक्षण गर्दै नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको महान लक्ष्यमा प्रतिवद्ध रहँदै हामी गौरीशंकरका सबै जनता खुसी र सुखी बनाउन चाहन्छौं ।
एमालेको दृढ संकल्प
नेकपा एमाले सबै जनतालाई गरिबी, पछौटेपना, अन्धविश्वास र सबैखाले विभेदहरुबाट मुक्त गराउन प्रतिबद्ध छ । संमृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न दत्तचित्त छ । राष्ट्रिय स्वाभिमान उच्च राख्न, राजनीति स्थायित्व कायम गर्न र गणतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र माथि भैरहेको प्रहारलाई मनन गर्दै विशुद्ध राजनीति संस्कार स्थापना गर्न नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस सहितको सरकारले जनआकांक्षा अनुरूप काम गरिरहेको छ ।
राष्ट्रिय परिवेशलाई आत्मसात गर्दै गौरीशंकर गाउँपालिकामा स्थानीय पुर्वाधारको दिगो विकास, सुशास, मानवीय सेवा विस्तार र स्थानीय स्रोत साधनको समुचित प्रयोगद्वारा सबै जनतालाई समृद्ध बनाउन हामी दृढ संकल्पित छौं । यसअघि नेकपा एमालेको नेतृत्वमा गाउँपालिका सञ्चालन हुँदा सुरु गरिएका काम र प्रयासहरुलाई निरन्तरता दिनसके गाउँपालिकाको मुहार फेरिने छ । जनताको हैसियत क्रमश माथि उठ्ने छ । सुख र खुशीका दिनहरु सुरु हुनेछ । त्यसका लागि नेकपा एमालेका उमेदवारहरु जित्न अपरिहार्य छ । एमालेले सुरु गरेका अल्पकालीन र दीर्घकालीन कामहरु सम्पादन गर्न, पालिकाभित्र सुशासन ल्याउन, गलत कामको बिरोधमा खबरदारी गर्न, परिवर्तन ल्याउन र सकारात्मक आशाहरु जगाउन पनि यो उप–निर्वाचनमा एमालेका सूर्य ध्वजाबाहक उम्मेदवार कमरेड उमा शेर्पालाई विजय गराउन आवश्यक छ । त्यसैले गौरीशंकरका सबै मतदाताहरुमा सूर्य चिन्हमा मतदान गरिदिन हुन नेकपा एमाले गौरीशंकर गाउँपालिका हार्दिक अपिल गर्दछौं ।
२०७४ को निर्वाचन पछि गौरीशंकरमा नेकपा एमालेको स्थानीय सरकार रहँदा दिगो विकासको आधार सहित जनताको जीवनस्तर उकास्ने कार्यहरूको थालनी भएको थियो । दुख, पीडामा रहेका जनताको आवश्यकता पूरा हुदै थिए । एमालेको स्थानीय तहमा नेतृत्व हुँदा स्थानीय सडक विस्तार, अस्पताल, विद्यालय तथा सुचना प्रविधिको क्षेत्रमा तार सहितको इन्टरनेट सञ्जाल विस्तार भएको थियो भने विविध क्षेत्रमा जनताले प्रत्यक्ष अनुभूत गर्ने गरि विकासको गतिले तिव्रता लिएको थियो ।
गौरीशंकरमा अहिलेको अबस्था
विडम्वना, २०७९ को निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूबाट उपलब्धिपूर्ण केही थप काम हुन सकेन । कुनै नयाँ काम हुन नसके पनि जारी कामलाई प्रवर्द्धन पनि गर्न सकेन । एउटा काम पनि सम्झन लायक देखिएको छैन । त्यसैले नेकपा एमालेका उम्मेदवार विजयी नभइ गौरीशंकर समृद्धि हुन सक्दैन भन्ने पुष्टी भैसकेको छ ।
१. विकासको गतिमा ब्रेक
नेकपा एमालेको नेतृत्व नभएकाले समृद्द गौरीशंकर विकास र निर्माण अभियानमा ब्रेक लागेको छ । यस पालिकाको समग्र अबस्था नै भताभुङ्ग भएको छ । पूर्वाधार विकास प्रायः ठप्प छ । जनमुखी कानून वनाउने प्रकृया सुरु नै गरिएको छैन ।
२. सडक सञ्जालको बेहालः
नेकपा एमालेको नेतृत्व हुँदा गौरीशंकर गाउँपालिकामा तयार भएको सडक सञ्जाल अस्तब्यस्त छ । विकासको मेरुदण्ड नै सडक भएकाले बाहै महिना मोटर चल्न सक्ने सडक व्यवस्थापन गर्नु पर्नेमा त्यता तर्फ स्थानीय सरकारको कुनै चासो गएको देखिदैन । जबकी एमालेको नेतृत्व रहँदा चाडबाड केन्द्रित रहेर हरेक वर्ष सडकको मर्मत र सरसफाइमा जोड दिने गरिएको थियो ।
३.सुशासन ध्वस्तः
गौरीशंकर पालिका सभा तथा कार्यपालिका बैठक प्रभावकारी सञ्चालन भएका छैनन् । यस पालिकामा रहेका सञ्चालित जलबिद्युत तथा अन्य आयोजनाहरुसँग पटक्कै समन्वय देखिन्न । उल्टै अनुचित लाभका निम्ति जनहित विपरीत केही जनप्रतिनिधि र कर्मचारीहरु संलग्नता रहेको देखिन्छ । सरकारी सेवाप्रदायक संरचनाहरु पनि वेलगाम भएका छन् । भएका साधन स्रोतहरु सदुपयोग हुनु कता हो कता दूरुपयोगले सीमा नाघिसकेको छ । योजना तर्जुमाका कानुनी विधिका सात चरणलाइ पूर्णतया बेवास्ता गरिएको छ । पालिकाले सार्वजनिक गर्नु पर्ने न्यूनतम विषयहरु पनि चासो देखाएको पाइन्न । पालिका भित्र नेकपा माओवादीको एकल बहुमत र जुंगु केन्द्रित पारिवारिक राजनितिले सुशासन ध्वस्त छ, भ्रष्टाचारले सिमा नाघेको छ । निरङ्खकुश शासन शैलीले सार्वभौम नागरिकलाइ रैती व्यवहार गरिएको छ । नागरिकहरु विकासका हकदार हुन् भन्ने नेतृत्वले विर्सिएको छ । अहिलेको नेतृत्वले जनसवाल प्रति पटक्कै चासो नदेखाइ निजी स्वार्थ र रमाइलो गर्दै समय वितइरहेको छ । यो रवैयाले समृद्ध गौरीशंकर, सुखी जनताको लक्ष्य प्राप्तिमा केही वर्ष पछाडी धकेलिएको छ । असक्षम नेतृत्वको कारण नागरिकको सपनामा तुषारापात भएको छ ।
उपाध्यक्ष एमाले के किन ?
१. स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सार्वजनिक गरेको गौरीशंकर रुपान्तरणका अल्पकालीन र दीर्घकालीन प्रतिवद्धताहरु पूर्ण लागू गर्न ।
२. पालिकामा सशक्त, सही र जुझारु महिला जनप्रतिनिधि उपस्थिति गराउन ।
३. सक्षम उपाध्यक्षको न्यायिक समितिबाट न्यायको अनुभूति गराउन ।
४. माओवादी एकल बहुमतको नाममा मनपरि तन्त्र रोक्ने र पारदर्शी र जिम्मेवार बनाउन खबरदारी गर्न ।
५. स्थानीय साधन स्रोत पहिचान र स्थानीय समुदायको परिचालनवाट समृद्ध गौरीशंकरका लागि बजेट सहितको कार्यक्रम तयार गर्न ।
६. पालिकामा भैरहेको भ्रष्टाचार, अनियमिततालाई रोक्न ।
७. उपाध्यक्षको जिम्मेवारीमा विकास निर्माणको अनुगमन गरेर कमसल काम र व्यथितिपूर्ण विकासे गतिविधिको अन्त्य गर्न ।
८. विकट भूगोल, प्राकृतिक प्रकोपको जोखिमता र छरिएको वस्तिका कारण विभिन्न समस्या भोगिरहेको परिस्थितिमा एकीकृत वस्तीको अवधारणा अघि सार्न ।
९. विकास निर्माणमा जनसहभागिता गराइ विकासका हकदार नागरिक हुन् भन्ने मर्मलाई व्यवहारमा कार्यान्वयन गर्न ।
१०. जनप्रतिनिधिहरु शासक हैनन्, सेवक हुन् भन्ने मर्मलाइ मनन् गर्दै सामाजिक रुपान्तरणमा जनप्रतिनिधिहरुले भूमिका खेल्ने वातावरण तयार गर्न ।
११. न्यायिक सम्पादनका सन्दर्भमा मेलमिलाप प्रकृयालाई प्राथमिकता दिँदै सामाजिक न्यायमा आधारित न्याय सम्पादनमा नेतृत्वदायी भूमिका खेल्न ।
अन्तमा,
नेकपा एमाले जनमतको आधारमा देशको प्रमुख पार्टी हो । मुलुकको सुन्दर भविष्य निर्माण गर्ने राष्ट्रवादीहरुको पार्टी हो । समृद्ध नेपाल, सुखी नेपालीको स्पष्ट लक्ष्य बोकेको पार्टी हो । नेपाली राजनीतिलाई मौलिक ढाँचामा मार्गनिर्देशन गर्ने जनताको बहुदलीय जनवादको रोडम्यापमा अघि बढेको पार्टी हो । यो पार्टी जनतालाई शीर्षस्थानमा राखेर नेपाली राजनीतिमा अविचलित भै अघि बढ्ने छ । यो पार्टीका जनप्रतिनिधि, नेता, कार्यकर्ता पनि त्यही मार्गदर्शनमा अघि बढिरहेको छ । यस गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि, नेता, कार्यकर्ता पनि जनताको आवश्यकता र चाहाना पूरा गर्न तन र मनले लागिरहेको छ र लागिरहने प्रतिबद्धता गर्दछ । हार्दिक अभिवादन !