चरिकोट । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक पुग्ने पर्यटकहरुले अब कर तिर्नुपर्ने भएको छ । कालिञ्चोक गाउँपालिकाले भ्रमण गर्न तथा मन्दिर दर्शन गर्न आउने पर्यटकहरुबाट कर उठाउने निर्णय गरेको हो ।
गाउँपालिकाले गरेको निर्णय अनुसार अब कालिञ्चोक मन्दिर दर्शन गर्न आउने पर्यटकले प्रतिव्यक्ति ३० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै बसलाई ५० रुपैयाँ, जिप कारलाई ३० , मोटरसाइकललाई ३० रुपैयाँ कर तोकिएको छ । कालिञ्चोक केवलकारको टिकटमा कर बाहेकको रकममा टिकट मूल्यको २ प्रतिशत दस्तुर लगाउने निर्णय पनि गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाले कर लगाउने निर्णय गरेसँगै कालिञ्चोक भ्रमणमा आउने पर्यटक थप मारमा पर्ने भएका छन् । पर्यटक तथा दर्शनार्थीहरुले कालिञ्चोक मन्दिरमा चढाउने दान, दक्षिणा पनि प्रमुख जिल्ला अधिकारी नेतृत्वको गुठीमार्फत ठेक्का लगाएर उठाउने गरिएको छ । अहिलेसम्म कालिञ्चोक क्षेत्र आउने पर्यटकलाई शुल्क लाग्दैनथ्यो ।