काठमाडौं । काठमाडौंको सुन्धारा स्थित धरहरा आईतवारदेखि संचालनमा आएको छ । धरहरा चढ्दा र पार्किङ गर्दा शुल्क तिर्नेगरी संचालनमा आएको हो ।
यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । सरकारले आईतवारदेखि धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो ।
त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ ।
धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।