काठमाडौँ । गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमणमा कमी आएको छ । चिसो मौसम सुरु भएसँगै यसको संक्रमण पनि घट्न थालेको हो । चिकित्सकहरुका अनुसार चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मंसिर ३ गतेसम्म नेपालमा कुल ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसमध्ये १३ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ । देशका ७७ जिल्लामध्ये हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
जबकि गत वर्ष पुसको दोस्रो सातादेखि कार्तिक ५ गतेसम्म डेंगु सङ्क्रमितको संख्या २२ हजार ८२ थियो । करिब एक महिनापछि अर्थात् मंसिर ३ गते यो संख्यामा १० हजार ६१८ थपिएर ३२ हजार ७०० पुगेको हो । कार्तिक ५ गतेसम्म ११ जनाको मृत्यु भइसकेको थियो भने मंसिर ३ गतेसम्म थप दुई जनाको मृत्यु भइ कुल मृतक संख्या १३ पुगेको छ ।
ईडीसीडीका अनुसार असोज ६ गतेसम्ममा १२ हजार ६४४ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । कार्तिक ५ गतेसम्म आइपुग्दा ९ हजार ४३८ जना डेंगु सङ्क्रमित थपिए भने थप ५ जनाको मृत्यु भइ कुल मृतक संख्या ११ जना पुग्यो ।
महिना दिनमा डेंगु सङ्क्रमितको संख्या खासै घटेको नदेखिए पनि चिसो बढ्दै जाँदा सङ्क्रमण घट्दै जाने चिकित्सक बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार तत्काल डेंगु सङ्क्रमण उल्लेख्य रूपमा घटेको छैन । तर अबको एक वा दुई सातापछि सङ्क्रमण घट्ने उनको भनाइ छ ।