काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईं फेरी प्रहरी हिरासत पुगेका छन् । उनलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धानका लागि भन्दै सीआईबीले आफू मातहतको केन्द्रीय साइबर ब्यूरोको जिम्मा लगाएको थियो ।
प्रसाईंलाई भने अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले बताए । प्रहरी स्रोतका अनुसार प्रसाईंले भने आफू क्यान्सर सर्भाइभर रहेको र स्वास्थ्यमा समस्या रहेको भन्दै अस्पताल भर्ना हुन खोजेका थिए ।
तर उनको स्वास्थ्य जाँच गर्ने क्रममा वीर अस्पतालका डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको बताएपछि प्रहरीले उनलाई वृत्त सिंहदरबारको हिरासतमा राखेको हो । मंगलबार उनलाई हिरासतमा राख्ने अनुमति लिन अदालत पेश गर्न नभ्याइएकाले बुधबार पेश गर्ने साइबर ब्यूरोका डीआईजी अर्यालले बताए ।
प्रसाईले यसरी फैल्याए भ्रम
दुर्गा प्रसाईंले आफ्नो भेरिफाइड फेसबुकमा ६ मिनेट ११ सेकेन्डको भिडियो हाले । ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ भन्दै उनले उक्त भिडियो हालेका थिए । उक्त भिडियो हाल समाजिक सञ्जालमा ‘भाइरल’ छ ।
भिडियोमा कम्बोडियाको टेलिकम कम्पनी आजियाटामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीको प्रमाण देखाएको गम्भिर आरोप लगाईएको छ । उनले कम्बोडियाको कम्पनी स्मार्ट आजियाटामा ओलीको लगानीको प्रमाणका रूपमा दुईवटा मोबाइलमा देखिएका कागजको भिडियो रेकर्ड गरेका छन् ।
भिडियोमा प्रसाईंले एकजना अर्को व्यक्तिसँग कुराकानी गरेको पनि देखिन्छ । त्यही कुराकानीका क्रममा देखाइएका स्क्रिनसट लिएर र मोबाइलमा देखाइएका कागजातको स्क्रिनसटका आधारमा भिडियो बनाइएको छ ।
प्रसाईंले ओलीको लगानी दाबी गरेको भिडियोमा हस्ताक्षर मिति १४ मे २०१९ लेखिएको छ । परराष्ट्र मन्त्रालयको विवरणानुसार, ओली सन् २०१९ को १३ मे देखि १५ मेसम्म कम्बोडिया भ्रमणमा थिए ।
प्रसाईंले ओलीको लगानी दाबी गरेको भिडियोमा स्मार्ट आजियाटाका तर्फबाट हस्ताक्षरकर्ताका रूपमा थोमस हडन्टको नाम छ । उनी हाल आजियाटाको चिफ स्टार्टेजिक एन्ड टेक्नोलोजी अफिसर हुन् । उनको इमेल ठेगाना भनेर लेखिएको थोमसको नभई मिडिया र कर्पोरट जानकारीका निम्ति आजियाटाले उपलब्ध गराएको इमेल ठेगाना हो ।
प्रसाईंले दाबी गरेका कागजतमा ओलीको नाम नै मिल्दैन । ओलीको नागरिकतामा केपी शर्मा ओली नाम छ । भिडियोमा देखाइएका यी प्रमाण हेर्दा प्रसाईंले ओलीको लगानी भन्दै दाबी गरेका कागजात गलत हुन् । यी कागजातले कम्बोडियामा ओलीको लगानी पुष्टि गर्न सक्दैनन् ।
प्रसाईंले कम्बोडियामा ओलीको लगानी छ भन्दै भ्रम फैलाएको यो पहिलोपटक होइन । ०८० कात्तिकमा पनि प्रसाईंले कम्बोडियामा ओलीको तीन हजार करोड रुपैयाँ लगानी भएको दाबी गरेका थिए । प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ ।