काठमाडौँ । गत असोज ११ र १२ गते लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब रुपैयाँ बढीको क्षति भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सोमवार बुझाईएको प्रतिवेदनमा देशभर बाढीपहिरोबाट जलविद्युत, सिँचाइ, तटबन्धन र प्रसारण लाइनमा १३ अर्ब रुपैयाँ बढीको क्षति भएको उल्लेख छ ।
मन्त्रि स्तरिय निर्णयबाट गठित समितिले नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रबाट निर्माण भएका तथा निर्माणाधीन विद्युत् तथा प्रसारण लाइन आयोजनामा भएको क्षति, सिँचाइ तथा नदी नियन्त्रणमा भएको क्षतिबारे अध्ययन गरेको थियो ।
अध्ययनमा निर्माण सम्पन्न भएका विभिन्न २७ वटा जलविद्युत् आयोजना, निर्माणाधीन १९ आयोजनामा छ अर्ब रुपैयाँ बराबरको क्षति भएको पाइएको छ । यस्तै, प्रसारण र वितरण लाइनतर्फ करिब १६ करोड रुपैयाँ बराबरको क्षति भएको अध्ययन समितिका सदस्य–सचिव एवं मन्त्रालयका सिडिइ शालिग्राम भण्डारीले जानकारी दिए ।
यसैगरी, संघीय सिँचाइ तथा नदी नियन्त्रणतर्फ चार अर्ब ९८ करोड र वागमती प्रदेशतर्फ दुई अर्ब ४३ करोड, ग्रामीण विद्युतीकरणतर्फ २० करोड ७१ लाख रुपैयाँ बराबरको क्षति भएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । समितिले क्षतिको विवरण तयार गरी भविष्यमा यस्तो प्रकोपबाट क्षति हुनबाट रोक्न अवलम्बन गर्नुपर्ने उपाय तथा क्षतिग्रस्त आयोजनालाई प्रदान गर्नुपर्नेरगर्न सकिने राहतका विषयमा समेत सुझाव दिएको छ ।
प्रतिवेदन बुझ्दै ऊर्जामन्त्री खड्काले निकै मेहनतका साथ तयार गरिएको प्रतिवेदनलाई कार्यान्वयन गर्न मन्त्रालय लाग्ने बताए ।