Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जागरण सभा मार्फत भ्रम र अराजकताको प्रतिवाद गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते जागरण सभा मार्फत पार्टी विरुद्धको भ्रम र अराजकताको प्रतिवाद गर्ने तयारी गरेको छ । पार्टी र नेतृत्व विरुद्ध फेक प्रचारबाजी र अराजकता फैल्याउन थालिएपछि एमालेले जागरण सभामार्फत त्यसको प्रतिवाद गर्ने तयारी गरेको हो । जसका लागि एमाले वाग्मती प्रदेश कमिटीले तयारी तिब्र बनाएको छ ।

जागरण सभाका लागि संयोजन समिति मार्फत मातहतका पार्टी कमिटी, जनसंगठन र विभागहरुले तयारी तिब्र पारेका छन् । कार्यक्रम तयारीका लागि आयोजित प्रदेश जनसंगठनहरुको बैठकलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य एवं वाग्मती प्रदेश कमिटी ईन्चार्ज डा. राजन भट्टराईले फेक प्रचारबाजीको साहरा लिएर एमाले बिरुद्ध चौतर्फी भ्रम सिर्जना गर्ने दुष्प्रयास भएको भन्दै त्यसको सशक्त प्रतिवादका लागि तयारी गर्न निर्देशन दिए ।

‘एमालेलाई कमजोर बनाउने कुनै उपाय नभएपछि सोसल मिडियाको दुरुपयोग गरेर फेक डकुमेन्टको साहरा लिएर भ्रम फैल्याउने दुष्प्रयास भएको छ, त्यसको प्रतिवादका लागि जागरण सभा आयोजना गरिएको हो, त्यसको तयारीमा कुनै कसर बाँकी नराख्नुस् बैठकमा निर्देशन दिँदै उनले भने ।’ 

जागरण सभा मार्फत मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्न, पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पु¥याउने उद्देश्य रहेको भन्दै भट्टराईले त्यसमा खरो उत्रिन पनि निर्देशन दिए ।   

बैठकलाई सम्बोधन गर्दै एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगलले, सचिव नवराज सिलवाल, उपसचिव भक्तकुमारी लामा लगायतका नेताहरुले जागरण सभालाई गम्भिरतापुर्बक लिएर तयारीमा लाग्न आग्रह गरे ।  

पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा आयोजना गर्न लागिएको हो । सभा तयारीका लागि पार्टीको बिभिन्न संरचनाका विभाग तथा कमिटीहरुको बैठक र भेलाहरु भैरहेका छन् । उपत्यकाका तीन वटा जिल्ला कमिटी, चार वटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनबाट १ लाख मानिस ¥यालीमा उतार्ने तयारी छ । 

मंसिर १६ गते हुने उपनिर्वाचनको पुर्बसन्ध्यामा एमालेले जागरण सभाको आयोजना गर्न लागेको हो । यो उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि जागरण सभा उपयोगी हुने नेताहरुको विश्लेषण छ ।  

जागरण सभालाई व्यवस्थित गर्नको लागि बागमती प्रदेशको इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति र त्यस मातहत विभिन्न समितिहरु गठन गरिएको छ । उपसचिव भक्तकुमारी लामाका अनुसार कार्यक्रम भव्यतापुर्बक सम्पन्न गर्नका लागि विभिन्न विभागहरुको बैठक, प्रचारप्रसार लगायतका तयारीहरु भैरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update