चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा शनिवारदेखि निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । दिपशिखा धितोपत्र कारोवार कम्पनी प्रालि र कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ को आर्थिक सहयोग तथा सु–स्वास्थ्य अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा सुन्द्रावती युवा संजालले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरको प्रमुख अतिथि वाग्मती प्रदेशसभा सांसद भरत केसीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । तीन दिनसम्म चल्ने शिविरमा चिकित्सकहरुले नसा च्यापिएको, कम्मर दुख्ने, गर्धन दुख्ने, घुँडा दुख्ने, माईग्रेन, बाथ तथा पिनाश लगायतका बिरामीहरुको उपचार गर्नेछन् ।
शिविरमा फिजियो थेरापी, अकुपञ्चर तथा प्राकृतिक चिकित्सा पद्धतीबाट किरामीहरुको उपचार हुन्छ । बिरामीहरुको उपचारका लागि कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थित मिलडाँडामा बेड सहितको व्यवस्था मिलाईएको छ ।
शिविरको पहिलो दिन शनिवार २०३ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा १४१ जना पुरुष र ६२ जना महिला रहेका छन् । शिविरमा ९० वर्ष उमेर समुहका बृद्धबृद्धाले समेत लाभ लिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सांसद भरत केसी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी, उपाध्यक्ष कुलबहादुर बुढाथोकी, वडा अध्यक्ष सूर्यबहादुर आचार्य लगायतले मन्तव्य व्यक्त गरे ।
गाउँमा समस्यामा रहेका विरामीहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष उत्तम ओलीले जानकारी दिए । संस्थाले रक्तदान, खेलकुद प्रतियोगिता लगायतका सामाजिक कार्यक्रम गर्दै आएको छ ।