चौतारा । सिन्धुपाल्चोक स्थित १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षणको काम अन्तिम चरणमा पुगेको छ । ७ किमि सुरुङ परीक्षणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ पानी भरेर पावरहाउसमा इलेक्ट्रोमेकानिकल परीक्षणको तयारी गरिएको छ ।
चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको यो आयोजनाको २०८० पुसमा पानी पठाउँदा सुरुङ ‘वेट टेष्टिङ’को क्रममा पानी चुहिएकोमा झण्डै एक वर्षपछि पुनः परीक्षण गरिएको हो । भोटेकोसी गाउँपालिकाको चाकुबजारबाट बाह्रबिसे नगरपालिकाको जम्बुस्थित पावर हाउससम्मको सुरुङमा पानी भर्दा तत्काल कुनै पनि समस्या नदेखिएको आयोजनाका प्राविधिकले जानकारी दिए ।
०६८ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको उक्त आयोजनाको निर्माण सुरु भएको झण्डै १२ वर्षपछि उत्पादनको तयारी गरिएको हो । ‘हामी सङबाट पानी पेनस्टक पाइपमा पठाउन तयारी छौं, ‘परीक्षणको सुपरभिजन गरिरहेका एक प्राविधिकले भने, ुपावर हाउसमा जडान गरिएको इलेक्ट्रोमेकानिकलको परीक्षण गर्न सकिने अवस्था भएको छ ।’ यसअघि पनि इलेक्ट्रोमेकानिकलको प्रारम्भिक परीक्षण गरिसकेकाले बढी दुई सातामा सबै काम सकिने आयोजनाले जनाएको छ ।
चार वर्षमा पूरा गर्ने लक्ष्य राखेर सुरु गरेको आयोजनामा चिलिमे, विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, स्थानीयको मुख्य लगानी छ । आयोजनाले सर्वसाधारण र प्रभावितका लागि पनि सेयर जारी गरिसकेको छ । शेयरको किनबेच पनि सुरु भइसकेको छ । विशेषगरी भूकम्प, बाढीपहिरो, राजनीतिक दलहरुको अनुचित हस्तक्षेप, कोभिड र आयोजनाको आन्तरिक व्यवस्थापनमा देखिएको कमजोरीले निर्माणमा ढिलाई भएको हो ।
सुरुमा १२ अर्ब २८ करोड अनुमान गरेकोमा समयावधि बढेकाले लागत बढ्दै गएर २० अर्ब नाघेको आयोजनाले जनाएको छ । भोटेकोसी कम्पनीले ५ अर्बभन्दा बढी ब्याजमात्र बुझाइसकेको छ । ब्याज रकमका कारण प्रतिमेगावाट उत्पादन लागत २० करोड नाग्ने अनुमान रहेको प्राविधिकहरुले जानकारी दिए ।