चरिकोट । दोलखा गौरीशंकर गाउँपालिका–८, खारेका गृहबहादुर बुढाथोकी मंसिर भित्र्याउन व्यस्त छन् । त्यही व्यस्तताका बिच आगामी मंसिर १६ गते हुने उप–निर्वाचनका उम्मेदवारहरु मत माग्न उनीकहाँ पुगिरहेका छन् । एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार उमा शेर्पा मंगलबार उनीकहाँ पुगेर मत मागिन् । मंसिरको चटारोमा भोट माग्दा गुनासो भन्दा उनले खुसी व्यक्त गरे । किनकी सही उम्मेदवार उठाएकोमा उनी खुसी रहेछन् । “यसपाली खासै भोट हाल्ने मन थिएन तर पढेलेखेको क्षमता भएको युवा उम्मेदवार उठ्नुभएको रहेछ, पार्टीले सही उम्मेदवार उठाएछ, त्यसैले भोट हाल्ने विचार गरेको छु, उनले भने ।
३४ वर्षकी उमालाई चुनाव प्रचारको दौरानमा धेरैले उनको अध्ययन, अनुभव र पृष्ठभूमि सोध्छन् । विशेषगरी युवा पुस्ताले उनको क्षमताबारे जिज्ञासा राख्छन् । जवाफमा उनले सबै उमेर समुहको साझा प्रतिनिधित्व गर्ने प्रतिवद्धता जनाउँछिन् । अर्थशास्त्र अध्ययनसँगै उनले उद्यमीको परिचय पनि बनाएकी छन् ।
पछिल्लो समय युवा पुस्तामा योग्य युवा उम्मेदवारलाई जिताउनुपर्ने जबरजस्त मत बन्दै गएको छ । उमा गौरीशंकर–८, खारेकै हेमबहादुर थापाकोमा मत माग्न पुग्दा ती बृद्धले एक्कासी छोराछोरीलाई म्यासेन्जरमा भिडियो कल गरे । छोराछोरीले अब युवालाई जिताउनुपर्छ भनेर कचकच गर्ने गरेको उल्लेख गर्दै बृद्धले तिमीहरुले भनेजस्तै उम्मेदवार आएको भन्दै उम्मेदवारसँग कुरा गराए । बृद्धले गाउँमा चुनाव लागेको भन्दै छिटो आउन समेत छोराछोरीलाई आग्रह गरे ।
अध्यक्ष पुरुष भएका कारण संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले दलहरुलाई उपाध्यक्षको उम्मेदवार महिलालाई बनाउन निर्देशन दियो । सोही अनुसार दलहरुले महिला उम्मेदवार अघि सारेका छन् । एमालेले उमा शेर्पा, कांग्रेसले पासदिकी तामाङ र माओवादीले निमलेकी शेर्पालाई चुनावी मैदानमा उतारेको छ ।
गौरीशंकर–४, का अमृत सुनुवारले तुलनात्मक रुपमा एमालेले उपयुक्त उम्मेदवार उठाएको बताए । ‘पढेलेखेको, उद्यमी, अनुभवि युवा भएको हुनाले उमा गौरीशंकरको लागि सबैभन्दा सुहाउँदो उम्मेदवार हो उनले भने ।’
मतदाताहरुले परम्परागत लिगेसीलाई निरन्तरता दिने मत पनि व्यक्त गरे । बृद्धवृद्धाहरुमा एमालेले बृद्धाभत्ता दिलाएको छाप देखिन्छ । बृद्ध चित्र कुमारी खड्काले पहिल्यैदेखि एमाले पार्टी मन परेकोले यसपाली पनि सोही पार्टीको उम्मेदवारलाई भोट दिने बताईन् ।
स्थानीय सरकारमा एउटा दलको एकलौटी रोक्नपनि बलियो उपाध्यक्ष फरक पार्टीबाट निर्वाचित हुनुपर्ने कतिपय मतदाताको तर्क छ ।
गत स्थानीय निर्वाचनमा गौरीशंकर गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । यो उपनिर्वाचनमा भने कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसबाट निर्वाचित श्यामसुन्दर तामाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले श्यामसुन्दरकै जिवनसंगिनी पासदिकीलाई उम्मेदवार बनाएको हो । पासदिकीको पक्षमा सहनुभुतिको मत खस्ने कांग्रेसको विश्लेषण छ । माओवादी केन्द्रकी उम्मेदवार निमलेकी स्वास्थ्य स्वयंसेविका पृष्ठभूमिकी हुन् ।