Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उद्योगमा विद्युत नजोड्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । उद्योगमा विद्युत नजोड्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएका थिए । दोस्रो रिटमा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

विद्युत् प्राधिकरणकै वकिल शरद कोइरालाको फर्ममा काम गर्ने अधिवक्ता खडानन्द कँडेलले हालेको उक्त दोस्रो रिटमा पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यो रिटमाथि आज पेसी थियो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय लागु नगर्न भन्दै कँडेलले रिट हालेका थिए । त्यसमा सर्वोच्चले फेरि अन्तरिम आदेश नदिएर छलफलका लागि बोलाएको छ ।

‘डेडिकेटेड’ ‘ट्रंक लाइन’ महसुल बक्यौता नउठाइ उद्योगहरूमा पुनः बिजुली लाइन जोड्ने निर्णय गरेको भन्दै अधिवक्ता कँडेलको नामबाट २७ कात्तिकमा रिट दर्ता भएको थियो ।

उक्त रिटमा नेपाल सरकार मन्त्रिपरिषद्, ऊर्जा मन्त्रालय, गिरिशचन्द्र लाल नेतृत्वको आयोग, नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई विपक्षी बनाइएको थियो । रिटमा यसअघि मन्त्रिपरिषदले २७ वैशाख २०८१ मा गरेको निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ ।

यसरी सरकार, प्राधिकरण र कार्यकारी निर्देशक घिसिङ लगायत विरुद्धमा रिट हाल्ने कँडेल प्राधिकरणकै कानुनी सल्लाहकार अधिवक्ता शरद कोइरालाको ल फर्म लर्न्ड एन्ड लयर्समा काम गर्ने अधिवक्ता हुन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा कोइरालाले नै प्राधिकरणका तर्फबाट सर्वोच्चदेखि जिल्ला अदालतसम्म बहस गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update