Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रविको बयान सकियो, तिहार हिरासतमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएपनि तत्काल नछुट्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान सकाएका छन् । 

सहकारी ठगी सम्बन्धमा प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको थियो । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’वापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न गरेको लामिछानेले वयानमा भनेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की स्रोतका अनुसार, उनले बयानका क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । रविले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरहेको भन्दै सहकारी ठगीमा संलग्नता नरहेको जिकिर गरेका छन् ।

स्रोतका अनुसार, उनले सहकारीमा बचत वा ऋणका लागि कुनै पनि किसिमको खाता नखोलेको बताएका छन् । लामिछानेलाई अदालतले ८ कात्तिकमा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसअनुसार बिहीबार उनलाई अदालतमा उपस्थित गराउनुपर्थ्यो । तर, अदालत विदा भएकाले लामिछानेलाई २० कात्तिकमा अदालत हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update