चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि जिल्लाका प्रमुख राजनीतिक दलले उम्मेदवार टुंग्याएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले गाउँपालिका उपाध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् । एमालेले वडा नम्बर ७ मार्बुकी उमा शेर्पा मगरलाई उपाध्यक्षको उम्मेदवार निर्णय गरेको छ ।
एमाले गौरीशंकर गाउँपालिका अध्यक्ष जंग गुरुङका अनुसार गाउँपाटी कमिटीले उमालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । नेपाली कांग्रेसले पासदिकी तामाङ र माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । तामाङ निवर्तमान उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङकी जिवनसंगिनी हुन् ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा यी तीन दल बीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन भएकोमा उपनिर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ ।
निवर्तमान उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । उम्मेदवार घोषणासँगै गौरीशंकर गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ ।
उक्त गाउँपालिका एमाले पोलिट व्यूरो सदस्य एवं पुर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, माओवादी नेता एवं प्रतिनिधिसभा सांसद गंगा कार्की, देवी खड्का, विशाल खड्का लगायत नेताहरुको गृहपालिका हो । यसअघि आफ्नो प्रतिनिधिको निधनपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेकोले कांग्रेसलाई पनि जित्नुपर्ने दवाब छ ।