काठमाडौँ । भारतले विस्फोटक पदार्थ आयात रोक्दा नेपालका जलविद्युत आयोजनाहरु फेरी प्रभावित भएका छन् । भारतले अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिन आनाकानी गरेको हो । जसका कारण तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजना समस्यामा परेका छन् ।
प्रवद्र्धकहरुका अनुसार भारतीय दूतावासले विद्युत् आयोजनाको लगानीकर्ता र ठेकेदार कम्पनीका सेयरधनीको विवरण, उपकरण आयात गरिएका देशको विवरणजस्ता कागजात पनि माग्दै एनओसी रोक्न थालेको छ ।
आयात प्रक्रियासँग असम्बन्धित कागजात मागेर भारतले नेपालमा चिनियाँ लगानी र ठेकेदारलाई निरुत्साहित गर्न खोजेको उनीहरूको दाबी छ । भारतले डिसेम्बर २०२३ देखि नै एनओसी दिन ढिलाइ गरिरहेको प्रवर्द्धकहरूको भनाइ छ ।
केही महिनाअघि तीनवटा जलविद्युत् आयाजनाको एनओसी नवीकरण र एउटा आयोजनामा नयाँ एनओसी दिएको भारतले त्यसयता नयाँ जलविद्युत् आयोजना र पुरानोमा समेत समयमा एनओसी नवीकरण नगरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) का महासचिव बलराम खतिवडाले बताए ।
भारतले गत जेठमा पनि त्यहाँको चुनावको कारण देखाएर विस्फोटक पदार्थ आयातका लागि एनओसी दिन आनाकानी गरेको थियो । त्यसअघि ०८० सालमा भारतीय पक्षबाट लामो समयसम्म अवरोध भएपछि व्यवसायीहरूले चीनबाट विस्फोटक पदार्थ आयात गरेका थिए । तर चीनबाट विस्फोटक पदार्थ आयात गर्दा धेरै समय र महँगो पर्ने हुनाले भारतमै निर्भर हुनुपर्ने बाध्यता रहेको छ । नेपालमा मुख्यगरी सडक, सुरुङ मार्ग परियोजना र सिमेन्ट उद्योगमा विस्फोटक पदार्थको प्रयोग हुने गरेको छ ।
नेपालमा हाल मासिक ४ सय टन र वार्षिक ५ हजार टन विस्फोटक पदार्थको माग छ । भारतबाट सहज रूपमा विस्फोटक पदार्थ नआउँदा निर्माणाधीन १८३ आयोजनामध्ये १२० वटा आयोजना प्रभावित भइरहेका प्रवर्द्धकहरूले बताएका छन् ।