Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बिपी राजमार्गमा जापानले देखायो चासो

गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिग्रस्त विपी राजमार्गप्रति जापानले चासो देखाएको छ। यो राजमार्गको अवस्था अध्ययनका लागि त्यहाँको प्राविधिक टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए।

बिहीबार १०० दिने उपलब्धि सार्वजनिक गर्ने क्रममा दाहालले जापानी प्राविधिक टोलीले पहिले यहाँ आएर प्राविधिक भेट्ने र स्थलगत अनुगमन गर्ने बताए।

'स्थायी रूपमा बनाउन के गर्ने भनेर हामी अध्ययन गर्दैछौं। जापानी प्राविधिकहरू पनि आउँदै हुनुहुन्छ। उहाँहरूले यहाँ अध्ययन गर्नुहुन्छ, हेर्नुहुन्छ। यहाँका प्राविधिकसँग पनि भेट्नुहुन्छ। उहाँहरूले चासो देखाउनु भयो राम्रै हुन्छ। उहाँहरूले नै बनाएको बाटो हो हामी यसमा सकारात्मक नै छौं,' उनले भने।

मन्त्री दाहालले यसअघि अस्थायी रूपमा दसैंअघि सञ्चालन ल्याउन सकिँदैन भन्ने प्रतिक्रिया दिएका थिए।

श्रमिकहरूले दिनरात घोटिएर आफूले दिएको प्रतिक्रिया असफल सावित गरिदिएको उनको भनाइ छ।

'मैले र सचिव ज्यूले पनि सकिँदैन भनेका थियौं। उहाँहरूले हाम्रो कुरा असफल सावित गरेर सञ्चालनमा ल्याउन सफल हुनु भयो। यसका लागि धन्यबाद नै दिएको छु मैले। त्यहाँ खन्ने डोजर अप्रेटरहरू प्रति सबैभन्दा बढी आभारी छु,' उनले थपे।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update