Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार महिला उठाउनुपर्ने

काठमाडौं । आगामी उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार महिला अनिवार्य बनाउनुपर्ने भएको छ । गौरीशंकर, नलगाढ नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको हो । तीन वटै गाउँपालिकामा पुरुष प्रमुख रहेकोले संवैधानिक प्रावधान अनुसार उपप्रमुखमा महिला उम्मेदवार अनिवार्य गरिएको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । 

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हो।

नलगाड नगरपालिका, जाजरकोट, गौरीशंकर गाउँपालिका, दोलखा र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामा उपप्रमुखका लागि उपचुनाव हुनेछ । तीन वटै पालिकामा हाल प्रमुख पुरुष छन् । निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार तीन वटै पालिकाको उपप्रमुखमा दलहरुले महिला उम्मेदवार उठाउनुपर्ने छ ।

कीर्तिपुर नगरपालिका, काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला छन् । त्यसैले ती वटै पालिकामा दलहरुले महिला वा पुरुष उम्मेदवार बनाउन सक्छन् ।

संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update