२८ माघ, दोलखा । सरकारले दोलखाको तीन महत्वपुर्ण स्थानलाई उत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न पुर्वाधार निर्माण कार्य अघि बढाएको छ । जिल्लाको कालिञ्चोक, शैलुङ र गौरीशंकर क्षेत्रलाई स्थापित पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको कार्य सुरु गर्न लागिएको हो ।
सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा पर्न सफल जिल्लाको तीन वटै धार्मिक तथा पर्यटकिय क्षेत्रका लागी बजेट बिनियोजन भैसकेको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षणका लागी २५ लाखका दरले बजेट विनियोजन गरेको हो । विनियोजित बजेट कार्यान्वयनका लागि मन्त्रालयले मार्गदर्शन सहित सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिसकेको छ । उक्त बजेटबाट पहिलो चरणमा पर्यटकिय क्षेत्रको डिपिआर, गुरुयोजना निर्माण लगाएतका पर्यटन पूर्वाधार विकास र प्रर्वद्धनका लागि खर्च गरिदैंछ ।
गत आर्थिक बर्षमा नै सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य र एक सय वटा स्थापित तर प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य छानेको थियो । ती छानिएका एक सय पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षण गर्न संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट समेत विनियोजन गरी खर्चको अख्तियारी पठाएको हो ।
त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दोलखाका तीन वटै गाउँपालिकालाई दोस्रो किस्ता बापतको रकम माग गर्न हालै पत्राचार गरेको छ । यहि आर्थिक वर्षभित्र कार्यान्वयन गर्नेगरी आगामी फागुन मसान्त भित्र किस्ता माग गर्न मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयले पहिलो किस्ता बापतको बजेट रकम यसअघि नै पठाईसकेको छ ।