Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जग्गा दानसँग कुनै सौदाबाजी छैन : एमाले 

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवनका लागि एक व्यवसायीले गरेको जग्गा दानमा कुनै सौदाबाजी नरहेको स्पष्ट पारेको छ । सोही विषयलाई लिएर पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै एमालेले त्यसको भत्र्सना समेत गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै ७५ वर्षे इतिहास बोकेको पार्टीप्रति लान्छना लगाउने काम भएको उल्लेख गरेका छन् । 

जग्गा स्वीकारमा कुनै लेनादेन नभएको पनि उनले स्पष्ट पारेका छन् । “अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले वहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदावाजी र लेनादेना छैन,” भनिएको छ, “ वहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैंले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन ।”

पार्टी कार्यालय बनाउन कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले १० रोपनी १४ आना जग्गा दान गरेको विषयले अहिले चर्चामा छ । 

गुरुङ विद्यार्थी कालदेखि नै अनेरास्ववियु र स्ववियुमा सक्रिय रहेको पनि एमालेले जनाएको छ । 

“स्मरणरहोस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई टेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ,” गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update