काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रश्न उठ्ने गरी काम नगर्न निर्देशन दिएका छन् । संघीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको जानकारी दिँदै उनले यस्तो निर्देशन दिएका हुन् । ६९ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्रीले प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए ।
सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना बेहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । ‘नेपाल प्रहरीसहितका सुरक्षा निकायहरूले परिश्रमका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् । कहिलेकाहीँ सुरक्षा निकायबाट हुने कमी कमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ र मन्त्री वा सरकारले आलोचना बोक्नुपर्ने अवस्था सिर्जना हुन्छ । तसर्थ थप सचेतना, सतर्कता र व्यावसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु,’ उनले भने ।
२०१२ सालमा स्थापना भएको नेपाल प्रहरी अहिले मुलुकको अपरिहार्य र महत्त्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको गृहमन्त्रीको भनाइ छ ।
राज्यको नागरिकसँग सम्पर्क सूत्र नै प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफू भूमिका सदैव सहयोगी रहने विश्वास गृहमन्त्री लेखकले विश्वास दिलाए । मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव छुवाछुतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानुनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए ।