चरिकोट । नेपालको गीत संगीत क्षेत्रमा धेरै विविधता पाईन्छ । खासगरी संगीतिक बजारमा माया प्रेमसँग सम्बन्धित गीतहरुको वर्चस्व छ । तर कतिपय सर्जकहरुले कला, संस्कृति र पर्यटन प्रवर्द्धनलाई आफ्नो सृजनाको विषय बनाउने गरेका छन् ।
दोलखाका सर्जक सुन्दर खड्काले पनि ‘कालिञ्चोकका डाँफे मुनाल’ नामक गीत र म्यूजिक भिडियो मार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने प्रयास गरेका छन् । केही समय अघि सार्बजनिक भएको म्यूजिक भिडिओमा दोलखाको प्रमुख पर्यटकीय गन्तव्यहरुको परिवेश समेटिएका छन् ।
कालिञ्चोक, भीमेश्वर, शैलुङ, गौरीशंकर, च्छोरोल्पा हिमताल, जिरी, चरिकोट, हनुमन्ते, खरिढुंगा, विगु गुम्बा, देउढुंगा, तामाकोशी नदी, भोर्ले झरना, सुन्द्रवती, सिंगटी, लामाबगर, सुनखानी चौघरा दरवार लगायतका स्थानको महत्व गीतको लिरिक्समा उनिएका छन् । गीतले ती स्थानहरुको यात्रा महत्व उजागार गर्दै पर्यटकहरुलाई भ्रमण गर्न आव्हान गरेको छ ।
गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र नरहरी प्रेमीले स्वर दिएका छन् । म्युजिक भिडियोमा सञ्जीव ठकुरी र बबिता गुरुङको मुख्य अभिनय छ भने अन्य कलाकारहरुले साथ दिएका छन् । दोलखाको जिरी, मैनापोखरी, भोर्ले, शैलुङ, कालिन्चोक, सुनखानी, सुन्द्रावती, डाङडुङ्गे डाँडा खरिढुङ्गा लगायतका स्थानमा भिडियोको छायाँङ्कन गरिएको छ ।
गीतका सर्जक खड्काले म्यूजिक भिडिओ मार्फत आफ्नो माटोको महत्वलाई उजागार गर्ने प्रयास गरेको बताए । उक्त म्यूजिक भिडिओको राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिन् ।