काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिका ना गाउँकी ३३ वर्षीया दावा याङ्जुम शेर्पाले हिमाल आरोहणको नयाँ किर्तिमान कायम गरेकी छन्। उनले विश्वकै अग्लो शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको किर्तिमान बनाएकी हुन् ।
४ हजार २ सय मिटर उचाईमा पर्ने दोलखाको ना गाउँमा जन्मेकी शेर्पाले बुधबार तिब्बतमा पर्ने विश्वको १४ औं अग्लो हिमाल सिसापाङ्मा आरोहण सम्पन्न गरिन्।
दावा पहिलो महिला एशियाली माउन्टेन गाइड पनि हुन्र। दावा याङ्जुमले विश्वका ८ हजार अग्ला १४ मध्ये १३ वटामा हिमालमा अघिल्लो वर्षसम्म सफल आरोहण सकिसकेकी थिइन् । उनी इनटरनेश्नल फेडेरेशन अफ माउन्टेन गाइड (आईएफएमजीए) बाट सर्टिफाइड पहिलो नेपाली महिला गाइड पनि हुन् । दावा याङ्जुम पछिल्लो समय पछि पारिएका महिलाहरुलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न छिन् ।
उनले हिमाल आरोहणमा एक दर्जन कीर्तिमान बनाइसकेकी छन् । १२ वर्षकै उमेरमा परिवारलाई नभनी दोलखा र खुम्बुको बीचमा पर्ने टासी लाप्चा पासमा पदयात्रामा निस्किएर पहिलोपटक आरोहणमा लागेकी थिइन् । उनी सन् २०१८ देखि विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोल्याक्स घडी ब्रान्डको दूतका रुपमा पनि आबद्ध छिन् । यी दुई ब्रान्डमार्फत संसारभर प्रचारप्रसारमा निस्किँदा उनी जलवायु परिवर्तन र महिलाका विषयमा पैरवी गर्दै आइरहेकी छन् । उनले सगरमाथाको चारपटक आरोहण गरिसकेकी छन् ।
विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुन् । उनले १४ वर्षअघि यो रेकर्ड हात पारेकी थिइन्