काठमाण्डौं - महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ विदेशबाट फर्किएका नागरिकलाई स्वागत गर्न फिल्डमै पुगेका छन् । शुक्रवार म्यानमारबाट फर्किएका २६ जना नेपाली नागरिकलाई मन्त्री गुरुङले फिल्डमै पुगेर स्वागत गरेका हुन् ।
फर्किएका नागरिकहरुलाई राखिने बसुन्धरा स्थित यति पार्टी प्यालेस पुगेर मन्त्री गुरुङले उनीहरुलाई स्वागत गर्नुका साथै सान्त्वना व्यक्त गरे । स्वागत कार्यक्रमपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री गुरुङले विदेशबाट फर्किएका सबै नागरिकहरुको स्वास्थ्य सुरक्षा र अन्य व्यवस्थापनलाई सरकारले प्रभावकारी बनाउने बताए । ‘जेष्ठ नागरिक, महिला, गर्भवती, सुत्केरी र वालवालिकाका लागि मन्त्रालयले छुट्टै व्यवस्थापन गर्छ, उनले भने ।
उनीहरुलाई सेनाले होल्डिङ एरियाबाट सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने छ ।
सरकारले विदेशमा रहेका नेपालीहरुलाई विमान ‘चार्टर’ गरेर नेपाल ल्याउन थालेको हो । पहिलो चरणमा म्यानमारबाट शुक्रबार २६ जनालाई ल्याइएको छ । नेपाली सेना र स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले त्यहाँ उनीहरुको प्रारम्भिक चेकजाँच गरेको थियो ।
विदेशमा रहेका नेपालीहरुलाई फर्काउने सरकारको निर्णयपछि आज पहिलो पटक म्यानमारबाट २६ नेपाली फर्किएका हुन् । विदेशबाट फर्किने वाग्मती प्रदेश अन्तर्गत पर्ने जिल्लाका नागरिकहरुलाई मन्त्री गुरुङकै पहलमा बसुन्धरा स्थित यति होल्डिङ एरियामा बस्ने व्यवस्था मिलाईएको छ । सरकारले विदेशबाट फर्किने वाग्मती क्षेत्रका नागरिकहरुको व्यवस्थापन गर्ने जिम्मा मन्त्री गुरुङलाई दिएको छ ।