चरिकोट । पछिल्लो केही महिना यता मुलुकमा दुई अनपेक्षित घट्नाहरु देखिए । संसदीय लोकतन्त्रमा बिरलै देखिने प्रमुख दलबीचको सत्ता समिकरण र असोज मध्यान्तरमा बाढीपहिरोको बितण्डा । यो घट्नाक्रमलाई धेरैले अस्वभाविक ठानेका छन् । असोज महिनामा यति ठुलो वर्षा र धनजनको क्षति भयो, जुन मध्य वर्षायामको समयमा भएन । यसका पछाडी, भौगोलिक अवस्थिति, अव्यवस्थित बसोबास, मानविय त्रुटिकमजोरी, जलवायु परिवर्तन, राज्यले गर्न नसकेको पुर्बतयारी लगायत कारण होलान् ।
धेरैले यसलाई भीमेश्वरको सिलामा आएको पसिनासँग पनि जोडेर हेरेका छन् । गत साउन ५ र ९ गते भीमेश्वरको सिलामा लगातार पसिना आएको थियो । त्यसपछि ठुला दुर्घट्ना र प्राकृतिक प्रकोपका घट्नाहरु भए । विगतमा पनि भीमसेनमा पसिना आउँदा मुलुकमा केही न केही ठुला अनिष्ट हुने गरेको अनौठो संयोग पाईन्छ । त्यसैले भीमेश्वरलाई साक्षात भविष्य सूचकको उपमा दिईएको छ ।
नेपाल सरकारका पुर्व सचिव भीम उपाध्यायले अहिलेको प्राकृतिक विपत्तीलाई भीमेश्वर महादेवको मूर्तिमा पसिना आएपछिको असर त हैन ? भनेर टिप्पणी गरेका छन् । उनको स्टाटसमा सहमति र विमतिका मिश्रित प्रतिक्रिया आएका छन् । पछिल्लो प्राकृतिक विपत्तीलाई भीमेश्वरको सिलामा आएको पसिनाले पुर्वसंकेत गरेको कतिपयको बुझाई छ ।
स्थानीय अगुवा भरत प्रधान भीमेश्वरको शिलामा पसिना आएपछि अनिष्ट हुन्छ भन्ने सत्यलाई आत्मासाथ नगर्दा मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको ठान्छन् । ‘भीमेश्वरको शिलामा पसिना आएपछि अनिष्ट हुने स्थापित सत्य हो, यो पटक लगातार पसिना आउनुले त्यही संकेत गरेको थियो, तर बेलैमा सजगता नअपनाउँदा ठुलो धनजनको क्षति भयो, उनले भने ।
पछिल्लो समय भीमेश्वर र दोलखामा लाग्ने जात्रा, पूजाकार्यहरुमा विधि नपुगेको, अधुरो हुने गरेको आरोप लाग्ने गरेको छ । भीमेश्वरसँग ऐतिहाँसिक सम्बन्ध भएका कतिपय समुदायको सहभागिता टुट्दै गएको छ । थामी, कुसुले समुदायले दोलखामा संचालन हुने पूजा तथा जात्रा लगायतका शुभकार्यहरुमा सम्मानजनक सहभागिता नभएको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । दोलखाको ऐतिहाँसिक खड्गजात्रामा थामी जातीको सहभागिता अनिवार्य मानिन्छ । उनीहरुको उपस्थिति बिना जात्रा नचल्ने किंवदन्ती छ । तर केही वर्षदेखि उक्त जात्रामा उनीहरुको सहभागिता छैन । कामचलाउ विधि पुरा गरेर जात्रा चलाउने गरिएको छ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर–९, मुलकोट स्थित बुढाभीमसेन र दोलखा भीमसेनको बीचमा परापुर्वकालदेखि नै सम्बन्ध भएको पाईन्छ । अग्रजहरुका अनुसार बुढाभीमसेनमा पनि पसिना आउने गर्दथ्यो । विजयादशमीको केही दिन अघि देखिनै सुन्द्रावतिका ‘हिपागुरु’ अर्थात नारीहरुमा कम्पन सुरु हुने गर्दछ । मुलकोट स्थित बुढाभीमसेनमा पूजाआरधना गरेपछि खड्गजात्राका लागि दोलखा आउने गर्दछन् । र खड्गजात्राको पूजाआरधनामा सरिक हुने गर्दछन् । केही वर्षदेखि उनीहरु खड्गजात्रामा सहभागि हुने वातावरण नबन्दा इतिहाँस मासिने भन्दै अगुवाहरु चिन्तित छन् ।
विधिहरु मसिँदै जाँदा पनि भीमेश्वरमा पछिल्लो पटक पसिना आएको हुनसक्ने कतिपयको अनुमान छ । नेपाल थामी समाज दोलखाका पुर्व अध्यक्ष ईन्द्र थामीले सुन्द्रावती स्थित बुढाभीमसेन र दोलखा भीमसेनबीचको ऐतिहाँसिक सम्बन्ध टुट्दै जाँनु राम्रो संकेत नभएको बताए । ‘हिफागुरुको उपस्थिति बिना खड्गजात्रा अधुरो हुन्छ, कमीकमजोरी सच्याएर सम्बन्धित पक्षले उनीहरुलाई सहभागि गराउने सम्मानजनक वातावरण बनाउनु पर्दछ, उनले भने, ‘तबमात्रै इतिहाँस जोगिन्छ, सबैको कल्याण हुन्छ ।’
पौराणिक एवं पुरातात्विक दोलखा शहरमा हुने पूजाआजा र बिभिन्न जात्राहरुलाई बिधिपुर्वक थप व्यबस्थित गर्नसके मात्रै ऐतिहाँसिक पहिचान संरक्षण हुनेमा सरोकारवालाहरुको जोड छ । स्थानीय अगुवा भरत प्रधान पनि बिधिहरु मासिँदै गएकोमा चिन्ता व्यक्त गर्छन् । भीमेश्वरमा रहेको साक्षात सत्य र दैवीशक्तिलाई जोगाउन परम्परागत बिधि र मुल्यमान्यताहरुलाई टुट्न दिन नहुने उनले बताए ।
भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठ बिपत्ती र संकटमोचनका लागि भीमसेन सक्रिय हुँदा शिलामा पसिना आउने र पूर्व संकेतको रुपमा प्रकट हुने बताउँछन् । ‘भीमेश्वरको सत्य प्रमाणित भैसकेको कुरा हो, जात्रा/विधिहरुमा कमिकमजोरी छन् भने सुधार गर्दै जानुपर्छ, उनले भने ।’ भीमसेनमा पसिना आउनुको वैज्ञानिक कारणहरु पनि होलान् । जसको राम्रोसँग अध्ययन हुन सकेको छैन ।