Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
खुर्कोटमा एक सातामै बेलिब्रिज 

खुर्कोट । सिन्धुलीको खुर्कोट स्थित सुनकोशी नदीको बेलिब्रिज एक सातामै तयार हुने भएको छ ।  बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने पुलमा बेलिब्रिज हाल्ने काम सेनाले सुरु गरिसकेको छ । रामेछापतर्फको ५१ मिटर बगेको ठाउँमा बेलिब्रिज हाल्ने काम सुरु भएको र एक सातामै काम सम्पन्न हुने सेनाले जनाएको छ । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट जोड्न १० वर्षअघि बनेको सुनकोशी माथिको १०० मिटर मध्ये ५१ मिटर पुल बाढीले बगाएको छ ।

बेलिब्रिजका लागि चाहिने सबै सामान आइनपुगेकाले पहिलो चरणमा पुलको सिन्धुलीतर्फको बाँकी भागको सरसफाइ र पारी रामेछापतर्फको पिल्लर प्रयोग गर्न मिल्ने नमिल्नेबारे प्राविधिक जाँच भइरहेको बेलिब्रिज निर्माणमा संलग्न १४ नं बाहीनीको पुल महाशाखाले जनाएको छ ।

रामेछापतर्फको पिल्लर प्रयोग गर्न मिल्ने अवस्था भइ इक्विपमेन्टहरु सबै आइपुगेमा एकसातामै बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुने सेनाका प्राविधिकले बताएका छन् । र्‍याफ्टिङ मोटरबोट प्रयोग गरेर सेनाका प्राविधिकहरु सुनकोशी नदी पार गरी रामेछापतर्फको पिलर जाँच गरिरहेका छन् ।

पिलर पुनः बनाउनु परेमा भने तीन महिना लाग्नेछ । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुंगाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोशी नदीको पुल बरदान सावित भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update