काठमाडौँ । पछिल्लो बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । अहिलेसम्म १८ जना बेपत्ता रहेका र एक सय ७८ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।
सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बाढी, पहिरो तथा डुबानमा परेर सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते र ६ जना बेपत्ता रहेका छन् ।
काभ्रेपलाञ्चोकमा नै सबैभन्दा बढी १२ हजार ६४७ जनाको उद्धार भएको छ । दोस्रोमा ललितपुरमा ४६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते र ५ जना बेपत्ता रहेका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते तथा ८ जना बेपत्ता रहेका छन् । बागमती प्रदेशमा नै सबैभन्दा बढी १३ हजार ६९४ जनाको उद्धार भएको छ ।
दोस्रोमा काठमाडौं उपत्यका ३ जिल्लामा मात्रै ७० जनाको मृत्यु भएको छ भने ३७ जना घाइते र ६ जना बेपत्ता रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै २ हजार १५८ जनाको उद्धार भएको छ ।