काठमाडौं । दोलखाका निर्माण व्यावसायी विदुर शर्मा ‘हनी ट्रयाप’को शिकार भएको खुलेको छ । ‘हनी ट्रयाप’मा पारेर रकम असुल्ने गिरोहमाथि प्रहरीको अनुसन्धानपछि यो तथ्य खुलेको हो । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इटहरीका ताज स्लाम र इटहरीकै दर्शन पोखरेललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । दर्शन फरार छन् । ताजलाई प्रहरीले यही असोज ९ गते पक्राउ गरेको थियो ।
उनीहरुले युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर रकम असुल गर्ने धन्दा चलाएको खुलेको छ । यही गिरोहले गएको वर्षको जेठमा शर्मालाई समेत हनी ट्रयापमा पारेर १६ लाख रुपैयाँ असुल गरेको पत्ता लागेको छ । सुरुमा विदुरसँग एक करोड रुपैयाँ मागिएको थियो । एक करोड नदिएपछि उनीमाथि बलात्कारको उजुरी दिइएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
पछि एक करोड रुपैयाँ दिने सर्तसहित विदुरका आफन्तले नबिल बैंकमा रहेको ताज स्लामको खातामा १६ लाख रुपैयाँ जम्मा गरेका थिए । १६ लाख पाएपछि पीडित भनिएकी युवतीले उजुरी फिर्ता लिन दरबारमार्ग प्रहरीमा निवेदन दिएकी थिइन् । तर, बलात्कारको उजुरी फिर्ता लिन नमिल्ने र छलफल समेत गराउन नपाइने भएपछि विदुर फरार भएका थिए ।
उनीमाथि बलात्कारको उजुरीमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । उनी अझै फरार छन् ।
सोही गिरोहले ललिपुरको भैँसेपाटीका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेका थिए । समूहले उक्त शैली पटक–पटक अपनाएको पाइएको छ । ताज र दर्शनको समूहले इटहरीमा केही युवतीलाई अवैध यौनधन्दामा लगाउने र पछि उनीहरूलाई नै प्रयोग गरेर बलात्कारको उजुरी दिने भन्दै विभिन्न व्यक्तिबाट मोटो रकम असुल गर्ने गरेको खुलेको हो । व्यवसायीलाई हनी ट्रयापमा पार्न युवतीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न लगाउने र शारीरिक सम्बन्ध भएपछि रकमको ‘बार्गेनिङ’ गर्ने गरेको खुलेको छ ।
रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्यले दरबारमार्ग र भैँसेपाटीको उजुरी एउटै प्रकृतिको र मानिस समेत उही भएकाले उनीहरूले युवतीलाई प्रयोग गरेर हनी ट्रयापमा पार्ने र रकम असुल्ने धन्दा चलाएको बताइन् ।
“हामी यो केसमा अलि गहिराइमा पुग्ने गरी अनुसन्धान गर्दै छौँ । यो गिरोहले इटहरीमा युवतीहरू राखेर हनी ट्रयापको शैली अपनाएर काम गरेको देखिन्छ । थप अनुसन्धान गर्दै छौँ,” एआईजी बज्राचार्यले भनिन् ।
यो समूहले केही पत्रकारलाई समेत ‘टार्गेट’ गरेको खुलेको छ । ललितपुर प्रहरीका अनुसार, त्यसका निम्ति ताज समूहकी एक युवतीले पत्रकारलाई ह्वाट्सएपमार्फत फोन पनि गरेको देखिएको छ । प्रहरी अधिकारीविरुद्धको समाचार दिने भन्दै युवतीमार्फत सम्पर्क गर्न लगाउने र पछि हनी ट्रयापमा पार्ने योजना ताजको समूहको थियो ।
ती युवती विदुरविरुद्ध उजुरी हाल्ने व्यक्ति नै रहेको खुलेको छ । ताजसँग जोडिएका एक बहालवाला एसपीको भूमिका समेत शंकास्पद देखिएको छ । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी इन्स्पेक्टर विनुकुमारी शाही निलम्वनमा छिन् ।
३० लाख रकम असुल गर्ने गिरोहमा आबद्ध आरोपमा एक अर्की महिलालाई पनि पक्राउ गरिएको छ । इटहरीकै २० वर्षीया भीमादेवी थापालाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । ललितपुरका व्यवसायीको ३० लाखमध्ये २० लाख थापाको बैंक खातामा जम्मा गरिएको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।
उनीहरूले विशेष गरी प्रतिष्ठित व्यवसायीलाई टार्गेट गर्ने गरेको खुलेको छ । अरू व्यवसायीलाई समेत उनीहरूको समूहले पीडित बनाएको आशंका प्रहरीले गरेको छ । भैँसेपाटी घटनाको छानबिन गर्न ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति बनाइएको छ ।