Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विपि राजमार्गको भकुण्डे-मेच्छेपौवा सडक सुचारु

काभ्रे। बाढीपहिरोका कारण अवरुद्ध विपि राजमार्गको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक सुचारु भएको छ । सडक सुचारु भएपछि यातायातका साधन चल्न थालेका छन् । 

यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालन गर्न दिइएको छ ।तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोसी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको छ । उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । 

बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए । 

बीपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौं पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११, डम्फुपार्क तथा वडा नं ९ म्ंगलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिए । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update