Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
११ सय मेगावाट बिजुली उत्पादन  बन्द, अपर तामाकोशीमा बढी क्षति

काठमाडौं । बाढिपहिरोका कारण ऊर्जा क्षेत्रमा ठुलो क्षति पुगेको छ । उर्जा क्षेत्रमा २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले तामाकोसी जलविद्युत् आयोजना बन्द भएको छ । पछिल्लो तीन दिनयता बन्द रहेको तामाकोसी लामो समय बन्द गर्नुपरे लोड व्यवस्थापनमै समस्या हुने देखिएको उनले बताए ।

४५६ मेगावाटको तामाकोशीमा बाँधस्थलको कन्ट्रोल रुम पूर्ण रुपमा क्षति भएको छ । सेटलिङ बेसिन र कल्भर्टमा पनि फेहोरहरु थुप्रिएको छ । यस आयोजनामा काम गर्ने २ जना कर्मचारी र २ जना सुरक्षाकर्मी बेपता भएका छन् । यस अयोजनाको यकिन विवरण अझै प्राप्त भइनसकेको घिसिङले बताए । जलविद्युत क्षेत्रको क्षतिका कारण आगामी सुख्खायाममा विद्युत आपूर्तिमा समस्या हुनसक्ने प्राधिकरणको आँकलन छ । 

प्राधिकरणका अनुसार काबेली करिडोरमा दुई टावरमा क्षति भएको छ । इलाम र पाँचथर फिदिममा बिजुली सेवा अवरुद्ध छ । त्यहाँ सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।

उता, तामाकोसी नदीले खिम्ती लामोसाँघु टावर बगाएका कारण २ सय मेगावाट ऊर्जामा समेत अवरोध भएको छ । त्यहाँबाट बिजुली काठमाडौं ल्याउने गरिएको छ । तामाकोसीले थप ८ सय मेगावाट बिजुली प्रसारण गर्ने टावर जोखिममा रहेको समेत ऊर्जा मन्त्रालयले जनाएको छ । १ हजार १० मेगावाट विद्युत् जडित क्षमताका १५ निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update