काठमाडौं - सरकारले कोरोना संक्रमण कम देखिएका जिल्लाहरुमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्न लागिएको हो ।
जेठ महिनाबाटै लकडाउन क्रमशः खुकुलो पार्दै लैजाने सरकारको रणनीति छ । असार १ देखि भदौ मसान्तसम्म खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।
असार १ गतेपछि कसरी जनजीवन सामान्य बनाउने भन्नेबारे उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले परामर्श गरेका छन् । सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेपनि यसबीचमा लकडाउनको मोडेल परिवर्तन गर्न दवाब बढेको छ । सो सुझावअनुसार शनिवारसम्म प्रस्ताव तयार गर्न समितिलाई मन्त्रिपरिषदले जिम्मा दिएको छ ।
अब बस्ने मन्त्रिपरिषद बैठकले कतिपय क्षेत्रहरुका बारेमा हेरफेर गरी संक्रमण फैलावटको अवस्था हेरेर विभिन्न जिल्ला तथा क्षेत्रमा लकडाउन खुकुलो र कडा पार्ने निर्णय लिने एक मन्त्रीले बताए ।