Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उद्धार, राहत र पुर्नस्थापनामा खट्न दलहरुको निर्देशन

काठमाडौं। अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेपछि उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापना कार्यमा खटिन दलहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरुले यस्तो निर्देशन दिएका हुन् ।

कांग्रेस कार्य सम्पादन समितिको बैठकले पीडितहरुको उद्धार कार्यमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । कांग्रेसले कोजाग्रत पूर्णिमासम्मको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर उद्धार, राहत वितरण र अस्थायी पुनस्र्थापनामा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनका अनुसार कांग्रेसले पीडितहरुको उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

नेकपा एमालेले पनि आइतबार बिहानै केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकबाट पीडितहरुको उद्धार कार्यमा सम्पूर्ण पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको छ । ‘सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिइएको छ’, विभागका प्रमुख खिमलाल भट्टराईले भने ।

उनका अनुसार उद्धार प्रभावित जिल्लाहरुमा आगामी १६ असोजसम्म शुभकामना आदानप्रादन लगायतका पार्टी कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ ।

तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताहरुलाई स्वयसेवामा परिचालित हुन निर्देशन दिईसकेका छन् । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि शनिबारै बक्तव्य जारी गरी उद्धार कार्यमा नेता तथा कार्यकर्ताहरुलाई परिचालित हुन निर्देशन दिएको छ ।  
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उद्धार कार्यमा खटिन कार्यकर्ता परिचालन गरेको छ । सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत् नागरिकको जिउधनको सुरक्षामा खटिन आह्वान गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update