चरिकोट । दोलखामा पहिरोले पुरिएका चार जना अझै फेला पर्न सकेका छैनन् । बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत ४ जना शनिवार सम्पर्कविहिन भएका थिए । शनिबार बिहान गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको पहिरोले दुई जना नेपाली सेना र दुई जना जलविद्युत् आयोजनाका कर्मचारीहरु पुरिएका थिए ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमका अनुसार पहिरो गएको स्थानमा उद्धार टोली पुग्न पनि नसकेको र चार जनाको अवस्था पनि थाहा हुन सकेको छैन । कन्ट्रोल बिल्डिङ पुरिदा बेपत्ता हुनेमा सुरक्षार्थ खटिएका नेपाली सेना गरुड दल गणका सैनिक जवान नरेन्द्र वहादुर पाल र अर्का सैनिक शंकर चन्द, नवलपरासी जिल्लाको प्रतापपुर घर भई माथिल्लो तामाकोशीमा फोरम्यानको काम गर्ने ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको बिगु गाउँपालिका–१ स्यालु घर भई सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ रहेका छन् । सुरुमा एक जना सुरक्षा गार्ड पनि पहिरोमा परेको भनिए पनि उनी भने सकुशस रहेको खुलेको छ ।
काठमाडौंबाट नेपाली सेनाको हेलिप्कटर र रोल्वालिङ कन्सट्रक्सनका उपकरण मार्फत बेपत्ताको खोजी हुँदैछ । साथै बालुवा थिग्राउने पोखरीमा जम्मा भएको ढुंगा/माटो हटाउनका लागि तामाकोशी–५ आयोजनासँग पनि सहयोग मागिएको गौतमले बताए ।
पहिरोले आयोजनाको बाँध क्षेत्रका संरचना हेडवक्र्मा पनि क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरेर बाँधका सम्पूर्ण ढोका (गेट) हरु खुल्ला गरिएको थियो ।
भिडियोमा पहाडको माथि टुप्पैबाट पहिरो खसेको देखिन्छ । आयोजनाका कर्मचारीहरुले यो अवस्था कल्पना बाहिरको भएको बताएका छन् ।