काठमाडौं - नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेर गएको छ । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दैलेखमा मात्र १ सय १३ जना संक्रमित थपिएको जानकारी दिए । यस्तै रौतहटमा ६५ जना, बाँकेका ४२ जना, कपिलवस्तुमा २९ जना संक्रमित थपिएका छन् भने दाङमा १५, सप्तरीका १३, बारामा १२, बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै झापामा ५, धनुषामा ६, महोत्तरीका ३ डोटीमा ३, मोरङको सुन्दर हरैंचाका २४ वर्षीय पुरुष, पर्सा पोखरियाकी १५ वर्षीया किशोरी, सिन्धुलीको कमलामाई नगरपालिकाका २३ वषीर्य पुरुष तथा सुनसरी भोक्राहाको क्वारेन्टिनमा रहेका ताप्लेजुङका ३५ वषीर्य पुरुष र मोरङका ३० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।