काठमाडौं । डेंगीको संक्रमण तिब्र रुपमा फैलिँदै गएको छ । सन् २०२४ को नौ महिना (जनवरीदेखि सेप्टेम्बरसम्म) को अवधिमा सबैभन्दा धेरै डेंगी संक्रमित देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार सेप्टेम्बरमा काठमाडौंमा पनि संक्रमण बढेको छ ।
यो वर्ष जनवरीयता सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगी संक्रमित थपिएका छन् । १ सेप्टेम्बरदेखि २३ सम्म पाँच हजार ७८० जना संक्रमित थपिएका छन् । डेंगी संक्रमितको संख्या पछिल्ला तीन महिनायता उकालो लागेको हो ।
योसँगै देशभर डेंगी संक्रमितको संख्या १२ हजार ६४४ पुगेको छ । डेंगी संक्रमण सबैभन्दा धेरै यिनै तीन महिनामा बढ्ने गरेको ईडीसीडीको रेकर्डले देखाउँछ ।
गत वर्षहरूमा पनि जुलाईदेखि सेप्टेम्बरसम्म संक्रमण उच्च भई अक्टोबरपछि ओरालो लागेको ईडीसीडीको तथ्यांक छ । सन् २०२३ को अगष्टमा सबैभन्दा धेरै १४ हजार ५३२ जना संक्रमित भएका थिए । त्यसपछि क्रमशः संक्रमण घट्दै गई सेप्टेम्बरमा १३ हजार ५४७, अक्टोबरमा १२ हजार ४८८, नोभेम्बरमा २१२२ को संख्यामा झरेको थियो ।
सन् २०२२ को सेप्टेम्बरमा पनि सबैभन्दा धेरै संक्रमित देखिएको तथ्यांक छ । ईडीसीडीका अनुसार सो वर्ष सेप्टेम्बरमा २७ हजार ५२९ पुगेको थियो । अगष्टमा यो संख्या तीन हजार ७०८ मा सीमित थियो । सो वर्ष अक्टोबरमा १७ हजार ८८९ जना संक्रमित भई नोभेम्बरमा पाँच हजारभन्दा कम भएको थियो ।
हालसम्मको रेकर्डले अगष्ट र सेप्टेम्बरमा नै सबैभन्दा धेरै डेंगी संक्रमित भएको देखाएको छ । यी दुई महिनामा लामखुट्टेको वृद्धि विकास बढी हुने भएकाले पनि अन्य महिनाको तुलनामा संक्रमण बढ्ने गरेको चिकित्सकहरुको भनाई छ ।
सेप्टेम्बरमा काठमाडौंमा डेंगी संक्रमण बढेको भए पनि भयावह अवस्था नबनेको अधिकारीहरू बताउँछन् । ईडीसीडीका अनुसार संक्रमितको संख्याको आधारमा काठमाडौं अहिले तेस्रो नम्बरमा छ । पहिलोमा कास्की र दोस्रोमा तनहुँ छन् ।