Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
इन्धनको मूल्यमा निरन्तर गिरावट

काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य र खपतमा निरन्तर गिरावट देखिएको छ । पछिल्लो दुई यता इन्धनको मूल्यसँगै खपत समेत घट्दो क्रममा छ। २०७९ असार ६ गते काठमाडौं उपत्यकामा प्रतिलिटर डिजेलको मूल्य १९२ रूपैयाँ र पेट्रोलको १९९ रूपैयाँ थियो । 
२०७९ असार ६ गतेको तुलनामा अहिले पेट्रोलको मूल्य प्रतिलिटर ४० रूपैयाँले कम अर्थात् १५९ रूपैयाँ लिटर छ। डिजेलको मूल्य ४६ रूपैयाँ कम अर्थात् १४६ रूपैयाँ लिटर छ। दुई वर्षको अन्तरालमा डिजेल र पेट्रोलको मूल्य २४ प्रतिशतसम्मले घटेको छ।

मूल्य यति धेरै गिरावट आउँदा पेट्रोलियमा पदार्थको खपत पनि घट्दो छ। यो वर्ष पनि पेट्रोलियम पदार्थ (विशेषगरी डिजेल) को खपत घट्दो क्रममा देखिएको छ। नेपाल आयल निगमले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १३ अर्ब ६४ करोड रूपैयाँको डिजेलको आयात गरेको छ।

यो गत आर्थिक वर्षको साउन र भदौ महिनामा भएको आयातभन्दा १३.३५ प्रतिशतले कम हो। मूल्यको आधारमा मात्रै नभइ परिमाणात्मक आधारमा पनि ४ प्रतिशतले डिजेलको आयात घटेको छ।

पेट्रोलको आयात पनि घट्दो छ। गत आर्थिक वर्षको दुई महिनामा पेट्रोलको आयात ११ अर्ब ३० करोड रूपैयाँ बराबरको भएकोमा चालु वर्षको दुई महिनामा ११ अर्ब ६ करोड रूपैयाँको मात्रै भएको छ। यो वर्ष ग्यासको आयात भने उल्लेख्य बढेको छ।

पछिल्लो समयमा विद्युतको प्रयोग बढेको कारणले पनि पेट्रोलियम पदार्थको खपतमा केही ह्रास आएको हुन सक्‍ने अनुमान गरिएको छ। सरकारको घोषित नीति नै विद्युतको प्रयोग बढाएर पेट्रोलियम पदार्थको खपत घटाउने छ। 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update