Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
न्याय हेल्थले भन्यो : आर्थिक संकटका कारण कर्मचारी कटौती

चरिकोट - प्रस्तावित चरिकोट अस्पताल (पीएचसी) को व्यवस्थापन गरिरहेको न्याय हेल्थ नेपालले कर्मचारी कटौती गर्नु वाध्यता भएको जनाएको छ । उसले बुधवार एक विज्ञप्ती जारी गर्दै प्रभावकारी स्वास्थ्य सेवाको निरन्तरतालाई ध्यान दिदै श्रम ऐन २०७४ अनुसार कर्मचारी कटौती गरिएको स्पष्ट पारेको हो ।

‘बिभागिय प्रमुखहरुको सुझाव, आवश्यकताको पहिचान र प्राथमिकता निर्धारणका आधार, कानुनी तथा जनप्रतिनिधिसँगको सल्लाहपछि श्रम ऐन २०७४ को श्रमिक कटौती प्रावधानको आधारमा मापदण्ड निर्धारण गरी संस्थाको कार्यकारिणी समितिले आउने आर्थिक वर्षको लागि उपयुक्त मानव संसाधन पुनर्संरचनाको निर्णय गरेको हो, विज्ञप्तीमा भनिएको छ ।’

उक्त निर्णयपछि कटौती गरिएका कर्मचारी आन्दोलित थिए । महामारीकाबीच कर्मचारी कटौती गरिएको भन्दै आलोचना भएको थियो । अन्तराष्टिय दाताहरुले प्रदान गर्ने अनुदान घट्दै जाँदा संस्थाले आगामी वर्ष थप जटिल आर्थिक चुनौतीको सामना गर्नुपर्ने अबस्था आएको विज्ञप्तीमा जनाईएको छ ।

न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनीले संस्थाको कूल बजेटको तीन चौथाई लागत मानव संसाधनमा भएको, संस्थाको कार्यक्रमहरुको दीगोपना र संस्थाले भोग्नुपरेको वित्तीय समस्यालाई मध्येनजर गर्दै कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको बताए ।

उनका अनुसार कटौतीमा पर्ने कर्मचारीलाई नियमित तलवभत्ता बाहेक अतिरिक्त सहयोग पनि गरिएको छ । न्याय हेल्थले प्रस्तावित चरिकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन दर्जन कर्मचारी कटौती गरेको थियो ।

हेर्नुस् प्रेस विज्ञप्ती

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update