Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्णायक राष्ट्रिय शक्ति बन्न एमालेको १८ बुँदे कार्ययोजना

काठमाडौं । नेकपा एमालेले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने वार्षिक कार्ययोजना सार्बजनिक गरेको छ ।  एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले उक्त कार्ययोजना पारित गरेको थियो । पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरी तयार गरिएको वार्षिक कार्ययोजना महासचिव शंकर पोखरेलले सार्वजनिक गरे । 

उनका अनुसार बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनामा १८ वटा विषय समेटिएको छ । नियमित अधिवेशन आयोजना र व्यवस्थापन गर्ने, अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने, कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने लगायत विषय कार्ययोजनामा रहेका छन् ।

पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, कामका नयाँ क्षेत्र पहिचान गर्नेलगायत कार्ययोजना रहेको महासचिव पोखरेलले बताए । 

महासचिव पोखरेलले उपसभामुखका विषयमा बाहिर चर्चामा आएजस्तो के गर्ने भन्ने निष्कर्षमा नपुगे पनि घटनक्रमलाई हेर्दा उपसभामुख पदमा बस्न नमिल्ने धारणा राखे । 
 

यस्ता छन् १८ बुँदे कार्य योजना

१: सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण ।

२: नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने)।

३: अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरुमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने ।

४: कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने ।

५: पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने ।

६: पार्टी स्कूल सञ्चालनलाई अभियानको रूपमा चलाउने । प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कूलमा भाग लिनैपर्ने ।

७: सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने । जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने ।

८: पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थपन गर्ने । केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने ।

९: पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने । हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने ।

१०: कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने ।

११: हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने । त्यस अनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने ।

१२: पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रुपमा लैजाने ।

१३: बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने । नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने ।

१४: प्रवासमा रहेका प्रवासीबीचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने ।

१५: पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने ।

१६: नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने ।

१७: पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने ।

१८: पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘युथ समिट’ आयोजना गर्ने । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update