चरिकोट - कोरोना सक्रमित दोलखा भिमेश्वर नगरपालिकाका एक बृद्धको मृत्यु भएको छ । भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षिय वृद्धको काठमाण्डौं स्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
उनलाई उच्च रक्तचाप र सुगरको गम्भिर समस्या थियो । तर उनलाई पछिल्लो समय काठमाण्डौंमा उपचारका क्रममा कोरोना संक्रमण समेत पुष्टि भएको थियो । चिकित्सकहरुका अनुसार उनको मृत्युको प्रमुख कारण भने कोरोना भन्दा पनि उच्च रक्तचाप र सुगर हो । उनको उपचारमा संलग्न केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
यद्यपी बृद्धबाट कोरोना सरेको हो वा चिकित्सकहरुबाट बृद्धमा संक्रमण भएको हो भन्ने बारे एकिन भैसकेको छैन । दोलखा रहँदा उनको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आईसकेको छ । उनको टाभल हिस्टीपनि खासै नदेखिएको र लकडाउनको पालना गरेर घरमै बसेका कारण काठमाण्डौंमै कोरोना संक्रमण भएको धेरैको बुझाई छ ।
उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ ।