Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लिपुलेक र कालापानी भारतको भनेपछि बिवादमा मेटमणी

काठमाडौं । लिपुलेक र कालापानी भारतको भूमि भन्ने  गम्भिर बिवादास्पद अभिव्यक्ति दिएपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरी बिवादित बनेका छन् । उक्त अभिव्यक्तिलाई लिएर सोसल मिडियामा उनको चर्को आलोचना भएको छ भने पार्टीले पत्र पठाएर स्पष्टीकरण मागेको छ । 

यही भदौ २५ गते एक टीभी अन्तर्वार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको हो भन्ने आशयको अभिव्यक्ति दिएका थिए । सो विषयमा पार्टीका महासचिव घनश्याम भुसालले पत्र पठाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् । 

‘तपाईंले लिपुलेक र कालापानीमाथि इन्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ– दाबी पुग्छ, उसको दाबी पुग्छ, भारतले लिन पाउँछ । (कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नु भएको रहेछ’, महासचिव भुसालले पठाएको पत्रमा भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदित नै छ। त्यस विपरित मुलुकको अखण्डता र सर्वभौमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो? यसबारे ३ दिनभित्र लिखित रूपमा स्पष्टीकरण दिनुहोला।’

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update