काठमाडौँ । सत्तारूढ कांग्रेस र एमालेलाई उपसभामुख इन्दिरा रानालाई हटाउन दुई तिहाई जुटाउन सकस देखिएको छ । दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख रानालाई हटाउने प्रक्रिया अघि बढाउने दुई दलको तयारी छ । तर दुई तिहाइ अनिश्चित र कांग्रेसमा आन्तरिक मतभेद देखिएपछि तत्कालका लागि प्रक्रिया रोकिएको छ ।
सत्तारूढ गठबन्धनमा कांग्रेस ८८, एमाले ७७ (सभामुख र निलम्बन टोपबहादुर रायमाझीबाहेक), जसपा ७, लोसपा र नागरिक उन्मुक्ति ४/४ र स्वतन्त्र १ गरी १८१ मत पुग्छ । दुई तिहाइका लागि आवश्यक १८३ मतमध्ये २ मत अपुग हुने भएकाले ओली र देउवा मधेश प्रदेश सरकारमा सहकार्य गरेको जनमत र सरकारलाई समर्थन जनाएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई फकाउने कसरतमा छन् ।
कांग्रेस पदाधिकारी बैठकमा नेता शेखर कोइराला पक्षले फरक धारणा राखेपछि कांग्रेस सभापति देउवा निर्णयमा पुग्न नसकेको बताईएको छ । उपसभामुख रानालाई राजीनामाका लागि आग्रह गर्ने र उनलाई हटाउने विषयमा पार्टीका सबै सांसदको हस्ताक्षर जुटाउन संसदीय दलको बैठक राख्ने निर्णय गरेर पदाधिकारी बैठक टुंगिएको थियो । लगत्तै बसेको संसद् बैठकमा कांग्रेस सांसदहरूले रानालाई राजीनामा दिन आग्रह गरेका थिए ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सबै परिस्थिति हेरेर कांग्रेसले उपसभामुखलाई मार्गप्रशस्त गर्न आग्रह गरेको बताए । उनले राजीनामा नदिए बैठक बसेर प्रक्रियाबारे निर्णय लिने बताए । प्रक्रिया जुनसुकै बेला अघि बढ्न सक्ने हुँदा कांग्रेसले असोज ३ सम्म आफ्ना सांसदलाई राजधानीबाहिर नजान ह्विप जारी गरेको छ ।