Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उपसभामुख हटाउने तयारी

काठमाडौँ । सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै हटाउने तयारी गरेका छन् । उनले गैरसम्बन्धित र सामान्य चिनजानसम्म नभएका पाँच जनालाई अमेरिका लैजान दूतावासलाई पत्र लेख्नु गम्भीर पदीय दुरुपयोग भएको सत्तारुढ दलको निष्कर्ष छ । 

सत्तारूढ दलको बैठकले उपसभामुखलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने र त्यसलाई अस्वीकार गरेमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । त्यसका लागि कांग्रेस र एमालेका सांसदहरूले प्रस्ताव दर्ताका लागि हस्ताक्षरसमेत संकलन गरिसकेका छन् । थप रणनीति बनाउन कांग्रेसले बुधबार बिहान पदाधिकारी बैठक बोलाएको छ भने एमालेले बाहिर रहेका सांसदलाई तुरुन्त राजधानी फर्कन र असोज ३ सम्म कसैलाई पनि राजधानी नछाड्न निर्देशन दिएको छ ।

२०७९ फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा भाग लिन जान लागेकी उपसभामुखले ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् । महिला अधिकारको अभियानसँग असम्बन्धित ५ जनालाई लैजानका लागि अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याडमा सिफारिससमेत गरेकी थिइन् ।

जबकि, संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्र मन्त्रालयले गर्छ । तर, अनधिकृत व्यक्तिको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेखेकी थिइन् । उक्त पत्र र विवरण साउनको पहिलो साता सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update