Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौँ । सरकारले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो । 

नापी विभागका अनुसार देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेका छन् । पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता ६२० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि आगामी असारमसान्तसम्मको समय थप गर्दै कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए । ‘

उनका अनुसार पालिकाहरूले आगामी असारसम्म जग्गा वर्गीकरण गरेनन् भने फेरि कित्ताकाट रोकिने छ । विभागका अनुसार २९५ पालिकाले अहिलेसम्म जग्गा वर्गीकरण नै सुरू गरेका छैनन् । वर्गीकरण नै नगरेका र आंशिक गरेका सबै पालिकामा भदौयता कित्ताकाट रोकिएको थियो ।

भू–उपयोग ऐन, २०७६ आएको ३ वर्षपछि सरकारले २०७९ जेठ २३ मा भू–उपयोग नियमावली जारी गरेको थियो  । नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्र कित्ताकाट गर्न पाईने नीतिका कारण सोही वर्षको साउनदेखि कित्ताकाटसँगै समग्र घरजग्गा कारोबार घट्न थालेको थियो । पालिकाले कृषि र गैरकृषि छुट्याउन ढिलाइ गरेपछि २०७९ मंसिरदेखि कित्ताकाट ठप्प भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update