काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राई नेपाल भित्रिएको आशंका गरिएको छ । उनी भारतीय बाटो हुँदै नेपाल प्रवेश गरेको प्रहरीको आशंका छ । मलेसियामा लुक्दै आएको सूचना पाएपछि उनलाई गिरफ्तार गर्न प्रहरी टोली खटिएको थियो । तर पक्राउ गर्न नसकेपछि प्रहरी त्यत्तिकै फर्किएको थियो ।
मलेसियामा प्रहरीले खोजी कार्य तिब्र पारेपछि राईले मलेसिया छाडेको बताईएको छ । राईको बसोबास र कारोबारस्थल पहिचान भइसकेको अवस्थामा पनि मलेसिया प्रहरीले उनलाई पक्राउ गरी नेपाल ल्याउने अनुमति नदिएको उच्च स्रोतको दाबी छ ।
मलेसियासँग सुपुर्दगी सन्धी नभएको कारण प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) मार्फत उनलाई नेपाल ल्याउने प्रयास थियो । मलेसिया प्रहरी पनि इन्टरपोलको सदस्य हो । तर, उसले व्यापारिक प्रयोजनका लागि आश्रय दिएका व्यक्तिलाई नागरिकसरहको व्यवहार गर्ने भन्दै बिनासुपुर्दगी सन्धि कोही पनि व्यक्ति अर्को देशमा नपठाइने अडान लिएको प्रहरी स्रोतले जनाएको छ ।