Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस उपसभापति गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । सहकारीको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ । धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम दुरुपयोग भएको भन्दै संसद्मा समेत प्रश्न उठेको छ । 

ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भनी उक्त रकम उठाउने वातावरण बनाइदिन प्रहरीमा उजुरी गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङले बताए । ज्योतिलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरी नेपाल ल्याएर उनको सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरणको माग गर्दै उजुरी दिएको उनले बताए ।

धनराज र ज्योति मिलेर रकम हिनामिना भएको चाल पाएपछि सहकारीका बोर्ड सदस्य मिलेर दुवैसँग छलफल गरी कागज गराएको प्रमाण सहकारीसँग रहेको अध्यक्ष कुम्भराजको भनाइ छ । सीआईबीले भने उजुरी दर्ता गर्न आलटाल गरेको छ । गुरुङमाथि सत्ताको आडमा अनुसन्धान नभएको भन्दै संसद्मा पनि प्रश्न उठेको छ ।

सोमबार संसद्को बैठकमा रास्वपा सांसद गणेश पराजुलीले गुरुङमाथि छानबिन हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् । कांग्रेस उपसभापति गुरुङले भने आफूमाथि लागेको आरोपको खण्डन संसद्‍बाटै गर्ने र छानबिनको माग गर्ने बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update