चरिकोट - कोरोना भाईरस (कोभिड १९) को महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यक्षेत्रमा खटिरहेका दोलखाका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । प्रेस काउन्सिल नेपालले मास्क, सेनीटाईजर, ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षा सामाग्री जिल्लाका पत्रकारहरुका लागि उपलब्ध गराएको हो ।
काउन्सिल संचालक समितिका सदस्य तथा संचार केन्द्र नेपालका गोविन्द चौलागाईसहितको टोलीले बुधवार उक्त सामाग्री पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जिवन लामालाई हस्तान्तरण गरे । अध्यक्ष लामाले उक्त सामाग्री विषम परिस्थितिमा पनि जोखिम मोलेर कार्यक्षेत्रमा अहोरात्र खटिरहेका संचारकर्मीलाई बितरण भैरहेको बताए ।
सदरमुकाम चरिकोटमा काउन्सिलसँगको टोलीसँग जिल्ला स्थित आमसंचारमाध्यमले भोग्नुपरेका समस्याका विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा जिल्लाका पत्रकारहरुले रेडियो, पत्रपत्रिका र अनलाईन संचारमाध्यमको नवीकरण सहज हुनुपर्ने र लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगले वितरण गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य चौलागाईले महामारीका बेला आमसंचारमाध्यमले भोग्नुपरेका समस्या सम्बन्धित ठाउँमा पुर्याई सम्वोधनका लागि पहल गर्ने बताए ।