Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
५० लाख लिएर क्रिप्टो कारोबारी छाड्ने प्रहरी हवल्दार छानविनमा 

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा काम गर्ने एक प्रहरी हवल्दार क्रिप्टो कारोबारीबाट पैसा लिएको अभियोगमा छानविनमा तानिएका छन् । प्रहरी सहायक हवल्दार गणेश खड्कालाई आफ्नै कार्यालयले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 

उनीविरुद्ध मान्छे पक्राउ गरेर छाडेको र ५० लाख रुपैयाँ लिएको आरोप छ । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीको नेतृत्वमा गठित छानबिन समितिले उनीमाथि अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार तेज तामाङ नाम गरेका व्यक्तिको सूचनापछि क्रिप्टो कारोबारमा संलग्न रहेको भनिएका आशिष आचार्य नाम गरेका युवकलाई १४ भदौमा पक्राउ गरिएको थियो । 

ती युवक पक्राउ परेपछि तामाङले आचार्यलाई छुटाउने भए प्रहरीलाई ५० लाख दिनुपर्ने बताएका थिए । त्यसपछि आचार्यका दिदीले तामाङलाई ५० लाख रुपैयाँ बुझाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङले ५० लाख बुझेपछि १४ गते शुक्रबार पक्राउ परेका आचार्य १६ गते रिहा हुन्छन् ।

प्रहरी हिरासतबाट छुटेर ती युवक क्यानडा उडिसकेपछि उनकी दिदीले घटनाबारे जानकारी गराउँदै परिसरमै निवेदन दिएपछि घटनाको रहस्य बाहिर आएको हो ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update